२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

लुम्बिनी प्रदेश सरकार विकास योजना भत्काएर आसेपासे रिझाउन व्यस्त भयो – पूर्वमन्त्री चौधरी

२०७८ कार्तिक २९, सोमबार प्रकाशित ( साल अघि) ५९१ पाठक संख्या

परासी,२९ कात्तिक । लुम्बिनी प्रदेशका पूर्वमन्त्री बैजनाथ चौधरीले वर्तमान गठबन्धनको लुम्बिनी प्रदेश सरकारले प्रदेशको दीर्घकालीन हित र विकासलाई मध्यनजर गरी बनाईएका रणनीतिक योजनाहरु भत्काएको आरोप लगाउनुभएको छ ।
पूर्ववर्ती शंकर पोखरेल नेतृत्वको सरकारले कुनै राजनीतिक पूर्वाग्रह नराखी समग्र लुम्बिनी प्रदेशको समृद्धिलाई मध्यनजर गरी सिँचाई, खानेपानी, सडक, आवास लगायतको गुरुयोजना निर्माण गरी योजनाबद्ध विकासको गतिलाई अघि बढाएको तर अहिलेको कूलप्रसाद केसी नेतृत्वको सरकारले विकास योजनालाई भत्काएर आफ्ना आसेपासेलाई भुजाभुजा बनाएर बजेट बाँड्न मात्र काम गरेको ठोकुवा गर्नुभयो ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ स्थित रजहवामा दङ्गिया पेटबन्हिया सिँचाइ आयोजनाको आज शिलान्यास गर्दै पूर्व मन्त्री चौधरीले उक्त कुरा बताउनुभएको हो । उहाँले अहिलेको सरकारले विकासमा ध्यान नदिई क्षणिक लाभ हुने गरी कार्यकर्ता रिझाउन मात्र व्यस्त रहेको जिकिर गर्नुभयो । उहाँले अहिलेका प्रदेश सरकारका मन्त्रीहरुले दीर्घकालीन योजनाको महत्व बुझ्न नसक्दा बजेट  र योजना कटौती गर्न व्यस्त रहेको बताउनुभयो ।
आगामी २०७९ को चैत मसान्त सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारको रु बीस करोड २३ लाख ३७ हजार रुपैँया लागत र उपभोक्ताको श्रमदानबाट रु ७० लाख ३७ हजार लागतमा यो सिँचाइ आयोजना निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालय सिँचाई तथा जलस्रोत महाशाखाका प्रमुख धु्रवराज पौडेलले जानकारी दिनुभयो । यो आयोजनाबाट सरावलको वडा नं. १ र २ का आठ सय बढी कृषक लाभावन्ति हुनुका साथै साढे सात सय बिघा जग्गामा सिँचाइ सुविधा पुग्ने उहाँले जानकारी दिनुभयो ।
आयोजना निर्माण तीन खण्डमा बाँडिएको छ भने तीनै खण्डको छुट्टा छुट्टै ठेक्का भई तीन वटा निर्माण कम्पनीले निमार्णको जिम्मा लिएका छन् । दङ्गिया पेटबन्हिवा जल उपभोक्ता समितिका अध्यक्षका देवराज चौधरीको अध्यक्षता तथा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य बैजनाथ चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य भगवती भण्डारी, सिँचाई तथा जलस्रोत डिभिजन कार्यालय नवलपरासीका प्रमुख धु्रवराज पौडेल, निर्माण कम्पनीका प्रतिनिधि गोपाल भट्टराई, स्थानीय उपभोक्ता राधेश्याम चौधरी लगायतले आयोजनाको महत्वको विषयमा प्रकाश पार्नुभएको उपभोक्ता समितिका सचिव भेषनारायण चौधरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस