२०८३ भाद्र ११, बिहिबार
24 खबर अपडेट

पाल्हीनन्दन गाउँपालिकाले रसुवा बाढीपीडितका लागि तीन लाख एक हजार सहयोग गर्ने

२०८३ भाद्र ११, बिहिबार प्रकाशित ( घण्टा अघि) ७७ पाठक संख्या

परासी,११ भदौ । रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले रु तीन लाख एक हजार सहयोग गर्ने भएको छ।
गाउँपालिकामा आज बसेको कार्यपालिका बैठकले पालिकाको प्रकोप व्यवस्थापन कोषबाट रु ३ लाख १ हजार प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको कार्यबाहक गाउँपालिका अध्यक्ष कृष्णचन्द्र यादवले दैनिक24 खबर डटकमलाई बताउनुभयो ।
“प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै बैठकले प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि पालिकाको तर्फबाट सहयोग गर्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो ।
बैठकले रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएको छ।
गाउँपालिकाले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रधानमन्त्री राहत कोषमार्फत प्रभावित नागरिकसम्म सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्जय शर्माले जानकारी दिनुभयो ।
पालिकाको सहयोगले राहत तथा पुनःस्थापनाको पर्खाइमा रहेका नागरिकलाई राहत पुग्ने विपद व्यवस्थापन संयोजक प्रदीप तिवारीले उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस