

मोहन पौडेल
परासी,२९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पश्चिम नवलपरासीको जिल्ला अध्यक्ष चयनका लागि शनिबार चार जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
अध्यक्ष पदका लागि देवी घिमिरे, सन्तोष पाण्डे, रामभवन यादव र रामजी पराजुलीले उम्मेदवारी दिनुभएको छ । शुक्रबार उम्मेदवारी दर्ताका क्रममा पाँच जनाले मनोनयन दर्ता गराए पनि अन्तिम नामावली प्रकाशनअघि टोपबहादुर सिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएपछि चार जनाबीच प्रतिस्पर्धा हुन लागेको हो।
राप्रपाको आगामी कार्यकालका लागि जिल्ला नेतृत्व चयन गर्न बिहीबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो। शनिबार सुनवलस्थित रिवर्न होटलमा हुने जिल्ला अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने कार्यक्रम छ। उद्घाटन सत्र सकिएपछि अध्यक्ष पदका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका संयोजक सुधिर पाण्डेका अनुसार जिल्ला अधिवेशनमा २४७ जना मतदाता सहभागी हुनेछन्। राप्रपाको विधानअनुसार दुईवटा निर्वाचन क्षेत्र रहेकोले पश्चिम नवलपरासीमा ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन हुनेछ।
जिल्ला अध्यक्षसहित ७५ प्रतिशत सदस्य निर्वाचनमार्फत चयन हुनेछन् भने बाँकी २५ प्रतिशत सदस्य तथा पदाधिकारी मनोनयनबाट चयन हुने व्यवस्था छ। जिल्ला सदस्य पदमा भने उम्मेदवारहरू निर्विरोध चयन भइसकेको निर्वाचन समितिले जनाएको छ ।
विधानअनुसार जिल्ला समितिमा अध्यक्ष, तीन उपाध्यक्षमध्ये एक महिला, एक सचिव, एक प्रवक्ता, एक कोषाध्यक्ष र दुई सहसचिव रहने व्यवस्था छ। शनिबार अध्यक्ष पदको निर्वाचनले आगामी पाँच वर्षका लागि राप्रपा पश्चिम नवलपरासीको नेतृत्व कसको हातमा जाने भन्ने टुंगो लगाउनेछ।