२०८३ भाद्र ३, बुधबार
24 खबर अपडेट

परासीमै सुरु भयो हाडजोर्नी, मेरुदण्ड तथा क्यान्सर रोगको विशेषज्ञ उपचारसहित शल्यक्रिया सेवा

२०८३ भाद्र ३, बुधबार प्रकाशित ( घण्टा अघि) ७६ पाठक संख्या

मोहन पौडेल
परासी, ३ भदौ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमै हाडजोर्नी, नशा तथा मेरुदण्डसम्बन्धी रोगको विशेषज्ञ उपचारसँगै क्यान्सर तथा जटिल शल्यक्रिया सेवा सुरु भएको छ। रामग्राम ३ परासीस्थित अर्थोपेडिक विशेषज्ञ क्लिनिकले विशेषज्ञ चिकित्सकीय टोलीसहित अर्थोपेडिक तथा स्पाइनसम्बन्धी उपचार र शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको हो।
क्लिनिकका सञ्चालक अर्थोपेडिक विशेषज्ञ तथा हाडजोर्नीसम्बन्धी क्यान्सरको शल्यक्रियामा विशेषज्ञता हासिल गरेका डा. विजयकुमार गुप्ताले हड्डी, जोर्नी, मांसपेशी तथा घाँटीदेखि कम्मरसम्मको मेरुदण्डमा देखिने विभिन्न समस्याको उपचार र शल्यक्रिया सेवा परासीबाटै सुरु गरिएको जानकारी दिनुभयो।
डा. गुप्ता हाडजोर्नी, नशा तथा मेरुदण्डसम्बन्धी रोगको विशेषज्ञ हुनुहुन्छ। उहाँले एमबीबीएस तथा एमएस उत्तीर्ण गर्नुभएको छ। अध्ययनपछि भरतपुर क्यान्सर अस्पतालमा फेलोसिप गर्नुभएका उहाँले क्यान्सरसम्बन्धी उपचार तथा शल्यक्रियामा थप विशेषज्ञता र अनुभव हासिल गर्नुभएको हो।
नेपालमा अर्थोपेडिक तथा स्पाइनसम्बन्धी जटिल शल्यक्रिया सेवा अझै पनि सीमित र दुर्लभ रहेको डा. गुप्ता बताउनुहुन्छ। अध्ययन तथा केही वर्षको व्यावसायिक अनुभवपछि देश–विदेशमा अवसर पाए पनि आफ्नै जन्मथलोमा सेवा गर्ने उद्देश्यले परासीमै विशेषज्ञ सेवा सुरु गरेको उहाँको भनाइ छ।
“यस क्षेत्रमा उपचार सेवा नहुँदा हाडजोर्नीको उपचार तथा शल्यक्रियाका लागि टाढाटाढा जानुपर्ने बाध्यता थियो, अब बिरामीको आवश्यकताअनुसार विभिन्न प्रकारका अर्थोपेडिक उपचार तथा शल्यक्रिया सेवा परासीमै उपलब्ध गराएका छौँ,” डा. गुप्ताले भन्नुभयो, “आफ्नो ठाउँलाई उपचारको हबका रूपमा चिनाउन सकियोस् र बिरामीले उपचारका लागि टाढा धाउन नपरोस् भन्ने मेरो उद्देश्य हो।”
आफ्नै जिल्लामा विशेषज्ञ सेवा विस्तार गरेर परासीलाई उपचारको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित क्लिनिक सञ्चालनमा ल्याइएको डा. गुप्ताको भनाइ छ। उहाँका अनुसार चितवनदेखि पश्चिम नेपालसम्म जटिल अर्थोपेडिक तथा स्पाइनसम्बन्धी विशेषज्ञ शल्यक्रिया सेवा अझै पनि निकै सीमित छ।
ठूला अस्पतालमा उपचारका लागि जाँदा लामो समय कुर्नुपर्ने र आवश्यकताअनुसार विशेषज्ञ परामर्श पाउन कठिन हुने अवस्थालाई ध्यानमा राख्दै परासीमै सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयास गरिएको उहाँले बताउनुभयो।
“अन्य अस्पतालमा जाँदा धेरै समय पर्खिनुपर्ने तथा आवश्यकताअनुसार परामर्श सेवा पाउन कठिनाइ हुने समस्या बिरामीले भोग्दै आएका छन्।,हामीकहाँ भने सहज, सरल र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेका छौँ,” उहाँले भन्नुभयो।

Ar2

मिनी अस्पतालकै स्वरूपमा सञ्चालन गरिएको क्लिनिकमा बिरामी भर्नादेखि आधुनिक उपचार तथा शल्यक्रियाका लागि आवश्यक सेवा–सुविधाको व्यवस्था गरिएको छ। क्लिनिकले २४ घण्टा सेवा उपलब्ध गराउने जनाएको छ।
डा. गुप्ताकै नेतृत्वमा दक्ष तथा अनुभवी चिकित्सकीय टोलीले हाडजोर्नी, मेरुदण्ड तथा सम्बन्धित जटिल समस्याको उपचार र शल्यक्रिया सेवा प्रदान गर्नेछ। स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध भएपछि पश्चिम नवलपरासीसहित आसपासका जिल्लाका बिरामीलाई उपचारका लागि चितवन, काठमाडौंलगायत टाढाका सहर धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस