२०८३ भाद्र १०, बुधबार
24 खबर अपडेट

नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन नवलपरासी प्रशासनको आग्रह

२०८३ भाद्र १०, बुधबार प्रकाशित ( मिनेट अघि) ४७ पाठक संख्या

परासी,१० भदौ । चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने भोटेकोसी नदीमा अकस्मात् बाढी आएपछि त्रिशूली हुँदै नारायणी नदीको बहावसमेत बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको सूचनामा त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण नदीको बहाव बढेको र थप विपद्को जोखिम हुनसक्ने भन्दै नवलपरासीस्थित नारायणी नदी तथा आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

पछिल्लो समय नारायणीमा पानीको बहाव बढेसँगै चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा समेत जोखिम बढेको जनाइएको छ।
प्रशासनले नारायणी नदीमा माछा मार्ने, नदीजन्य पदार्थ संकलन गर्ने तथा अन्य कामका लागि नदीमा जाने व्यक्ति तथा मजदुरलाई नदीमा नजान आग्रह गरेको छ। यसअघि नै नदीमा गइसकेकालाई तत्काल सुरक्षित स्थानमा जानसमेत अनुरोध गरिएको छ।

त्यस्तै नदी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना, उद्योग–व्यवसाय र सरकारी तथा गैरसरकारी कार्यालयलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी, सतर्कता र सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

सम्भावित विपद्का अवस्थामा नदीको बहाव तथा जलस्तरमा आउने परिवर्तनप्रति सचेत रहँदै स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचना र निर्देशनको पालना गर्न तथा आवश्यक परे तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत प्रशासनले अनुरोध गरेको छ। नदी किनारमा जोखिम मोल्ने काम नगर्न र प्रशासनको सूचनालाई गम्भीरतापूर्वक लिन समेत आग्रह गरिएको छ।

1787725420523

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस