मोहन पौडेल
परासी, २३ कात्तिक । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पचास प्रतिशत अनुदानमा कृषकहरुलाई गहुँको उन्नत बीउ वितरण गर्ने भएको छ ।
संंघीय सरकार र नगरपालिकाको साझेदारीमा खाद्यन्न बालीको उन्नत बीउ उपयोगमा मूल्य अनुदान कार्यक्रम अन्र्तगत बर्दघाटका सबै कृषकलाई अनुदानमा गहुँको बीउ वितरण गर्न लागिएको नगर प्रमुख धीरज शर्मा बस्यालले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
कृषकहरुको लागि भृकुटी,गौतम, एनएल ९७१, बाणगंगा र विजय गरी पाँच जातका गहुँको बीउ सहकारीमार्फत उपलब्ध गराउन लागिएको नगर प्रमुख बस्यालले बताउनुभयो । त्यसका लागि कृषकले माकर बहुउद्देश्यीय सहकारी बर्दघाट–४, मधुवन कृषि बहुउद्देश्यीय सहकारी बर्दघाट–९, जनभावना बहुउद्देश्यीय सहकारी बर्दघाट–१२, साना किसान कृषि सहकारी बर्दघाट–१३ मा सम्पर्क गर्नुपर्ने नगर प्रमुख बस्यालले जानकारी दिनुभयो।
प्रति कठ्ठा पाँच केजीका दरले आवश्यकता अनुसार नगर भित्रका कृषकलाई करिब पचास क्वीन्टल गहुँको बीउ अनुदानमा वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताउनुभयो । बीउको लागि प्रति केजी कृषकले रु ३७ रुपैँया पचास पैसा र नगरपालिकाको रु ३७ रुपैँया पचास पैसा कायम गरिएको उहाँले बताउनुभयो ।