२०८३ मंसिर ३, बिहिबार
24 खबर अपडेट

सुस्ताका बाढीपीडित ५० घरपरिवारलाई होप अफ लाइफको राहत, बालबालिकालाई शैक्षिक सामग्री

२०८३ मंसिर ३, बिहिबार प्रकाशित (८ घण्टा अघि) ४७ पाठक संख्या

परासी, ३ मंसिर । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा बाढीबाट प्रभावित परिवारलाई लक्षित गर्दै होप अफ लाइफले राहत सामग्री वितरण गरेको छ। संस्थाले सुस्ताका ५० घरपरिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री र २५ जना बालबालिकालाई शैक्षिक तथा न्यानो कपडा वितरण गरेको हो।
बाढी प्रभावित परिवारलाई चामल, दाल, तेल, नुन, म्याट र बाल्टिन वितरण गरिएको थियो भने बालबालिकालाई कापी, टोपी, मोजा र पञ्जा प्रदान गरिएको थियो।
गत भदौ १० गतेदेखि नारायणी नदीको कटानका कारण सुस्ताको नदीपारि क्षेत्रमा करिब ८०० मिटर जमिन कटान भएको थियो। त्यसैगरी तीन दिनसम्म परेको अविरल वर्षाले सुस्ताको थारू टोलका घरहरू पूर्ण रूपमा डुबानमा पर्नुका साथै कतिपय घर भत्किने र पुरिने अवस्था सिर्जना भएको थियो। विपद्बाट प्रभावित स्थानीयको कठिन अवस्थालाई मध्यनजर गर्दै राहत वितरण गरिएको हो।
राहत सहयोगका लागि बर्दघाट नगर इसाई समाजका अध्यक्ष पास्टर रामबहादुर थापाले होप अफ लाइफका सल्लाहकार ज्ञानेन्द्र खड्कासँग समन्वय तथा पहल गर्नुभएको थियो । सुस्ता–५ सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष कमल हरिजनको अध्यक्षता तथा सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ यादवको प्रमुख आतिथ्यमा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वडाध्यक्ष यादवले विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै चिसो मौसमलाई लक्षित गरी बालबालिकाका लागि न्यानो सामग्री वितरण गरिएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गर्नुभयो । विपद्का कारण समस्यामा परेका नागरिकलाई यस्ता सहयोगले ठूलो राहत पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा होप अफ लाइफका संयोजक राजकुमार खड्का, सल्लाहकार ज्ञानेन्द्र खड्का, बर्दघाट नगर इसाई समाजका अध्यक्ष पास्टर रामबहादुर थापा, जनता दलित आधारभूत विद्यालय व्यवस्थापन समितिका सदस्य पवन हरिजन, जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य मुन्सी हरिजन तथा जरलैया युवा क्लबका प्रतिनिधि रवि गुरुङलगायतको उपस्थिति रहेको थियो।
राहत वितरण कार्यक्रमको व्यवस्थापन जरलैया युवा क्लबले गरेको थियो भने सुस्ता गाउँपालिका–५ को वडा कार्यालयले सहकार्य गरेको थियो। कार्यक्रमको सञ्चालन नवलपरासी इसाई जवान संगतिका निवर्तमान अध्यक्षसमेत रहेका जरलैया युवा क्लबका सचिव धीरज गुरुङले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑