

परासी,१ मंसिर। कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय सुनाइएकी फरार महिलालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय हुने गरी फैसला भई कैद भुक्तान गर्न बाँकी रहेकी रामग्राम नगरपालिका–५ ड्राइभरटोल निवासी ४५ वर्षीया हदिसेन नेशालाई प्रहरीले पक्राउ गरेको हो ।
नवलपरासी जिल्ला अदालतबाट २०८१ फागुन १२ गते फैसला भए पनि कैद सजाय असुल हुन बाँकी रहेपछि उनी फरार रहँदै आएकी थिइन् ।
प्रहरीले खोजतलास गर्ने क्रममा पाल्हीनन्दन गाउँपालिका–५ चमनटोलस्थित लुकीछिपी बसेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो ।
पक्राउ परेकी नेशालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत नवलपरासीमा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।