२०८३ कार्तिक १५, शनिबार
24 खबर अपडेट

सहिद विष्णुप्रसाद पाण्डे स्मृति प्रतिष्ठानको विकासमा पहल गर्ने सांसद गुप्ताको प्रतिबद्धता

२०८३ कार्तिक १५, शनिबार प्रकाशित (२ घण्टा अघि) २७ पाठक संख्या

मोहन पौडेल
परासी, १४ कात्तिक । पश्चिम नवलपरासी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार गुप्ताले सुनवल–५, वनकट्टीस्थित सहिद विष्णुप्रसाद पाण्डे स्मृति प्रतिष्ठानलाई देशकै साझा धरोहरका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उहाँले प्रतिष्ठानको समग्र विकासका लागि संघीय सरकारबाट आवश्यक बजेट विनियोजन गराउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । प्रतिष्ठानको २०औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई सम्बोधन गर्दै सांसद गुप्ताले प्रतिष्ठानको विकासलाई सीमित योजनामा मात्र नराखी बृहत् गुरुयोजनाका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रतिष्ठानलाई व्यवस्थित, आकर्षक र रमणीय पार्कका रूपमा विकास गरी यसको महत्व र पहिचानलाई थप उचाइमा पु¥याउनुपर्ने बताउनुभयो । “सहिद विष्णुप्रसाद पाण्डे स्मृति प्रतिष्ठान साझा धरोहर हो , यसको विकासका लागि म प्रतिबद्ध छु,” गुप्ताले भन्नुभयो, “प्रतिष्ठानको डीपीआरअनुसार संघीय सरकारबाट कुन–कुन क्षेत्रमा लगानी गर्नुपर्ने हो, सांसदको हैसियतले त्यसको जिम्मेवारी म लिन्छु, आगामी आर्थिक वर्षको बजेटमा यसलाई प्राथमिकता दिनेछु ।”
सांसद गुप्ताले प्रतिष्ठानको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रतिष्ठानको विकास कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व भएको बताउनुभयो । यसको संरक्षण, पूर्वाधार निर्माण र सौन्दर्यीकरणमा सामूहिक प्रयास हुनुपर्नेमा जोड दिदै सांसद गुप्ताले सँधै सरकारबाट सहयोग प्राप्त नहुने भएकोले आयआर्जन हुने गरी विकासको योजना अघि सार्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रतिष्ठानमा हालसम्म भएका विकास निर्माणका कामको प्रशंसा गर्दै सांसद गुप्ताले अहिलेसम्मको उपलब्धि पर्याप्त भने नभएको धारणा व्यक्त गर्नुभयो । सहिदको स्मृतिलाई जीवन्त राख्दै प्रतिष्ठानलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित तीनै तहका सरकारको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण र लगानी विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रतिष्ठानका अध्यक्ष दुर्गानारायण सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेत, सुनवल नगरपालिकाकी मेयर बिमला अर्याल, पूर्व गाविस अध्यक्ष थानप्रसाद गैरे, नेपाली कांग्रेस सुनवलका सभापति यामलाल पाण्डे, नेकपाका नेता भविश्वर तिवारी आजाद, सहिद पत्नी भागिरथी पाण्डे, प्रतिष्ठानका उपाध्यक्ष रामप्रसाद सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुभएको सचिव बीरबहादुर विकले जानकारी दिनुभयो ।
सभामा अध्यक्ष सुवेदीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष मनमाया गुरुङले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गोविन्द पौडेलले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑