

परासी,९ कात्तिक । लागूऔषध गाँजा मुद्दामा दोषी ठहर भई फरार रहेका एक जनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पक्राउ पर्नेमा रामग्राम नगरपालिका–६ पोखरापाली निवासी ५४ वर्षीय दिनानाथ हरिजन रहेका छन्।
कार्यालयका अनुसार जिल्ला अदालत नवलपरासीले लागूऔषध (गाँजा/चरेस) मुद्दामा उनलाई २०५९ सालमा एक वर्ष चार महिना सात दिन कैद तथा एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। अदालतको उक्त फैसला कार्यान्वयन नभई उनी फरार रहँदै आएका थिए।
प्रहरीका अनुसार फरार कसुरदार हरिजनलाई पाल्हीनन्दन गाउँपालिका–५ स्थित गेरमीमा फेला पारी पक्राउ गरिएको हो।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।