

परासी, ६ कात्तिक । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, नारायणी नदीपारिका बाढी तथा नदी कटानबाट प्रभावित १५० घरपरिवारलाई कमिट नेपाल, बाँकेले चामल राहत सामग्री वितरण गरेको छ।
गत भदौ १० गतेदेखि नारायणी नदीपारिको सुस्ता गाउँमा नदी कटान तीव्र हुँदा करिब ७०० मिटर जमिन कटान भएको जनाइएको छ। नदी कटानबाट प्रभावित स्थानीय बासिन्दाको समस्यालाई मध्यनजर गर्दै राहतका लागि पहल गरिएको हो।
जरलैया युवा क्लबका सचिव धीरज गुरुङले प्रभावित परिवारलाई राहत उपलब्ध गराउन नेपाल ख्रिष्टियन समाज लुम्बिनी प्रदेशका अध्यक्ष पास्टर बाबुराम बस्नेतसमक्ष पहल गर्नुभएकोमा सोही आधारमा कमिट नेपाल, बाँकेको सहयोगमा प्रभावित घरपरिवारलाई चामल वितरण गरिएको हो।

कार्यक्रममा बोल्दै नेपाल ख्रीष्टियन समाज लुम्बिनी प्रदेशका अध्यक्ष पास्टर बाबुराम बस्नेतले बाढी तथा नदी कटानबाट प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराउँदै विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताउनुभयो ।
राहत वितरण कार्यक्रम सुस्ता–५ सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष कमल हरिजनको अध्यक्षता तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खाँको प्रमुख आतिथ्यता रहेको थिाये । उक्त अवसरमा कमिट नेपाल, बाँकेका निर्देशक केशव नेपाली, महासचिव प्रकाश नेपाली, लेखा अधिकृत रोहित नेपाली, बुटवलका अमृत ब्रदर, अर्घाखाँची इसाई समाजका अध्यक्ष पास्टर मनिस सिंह, नवलपरासी इसाई जवान सङ्गतिका अध्यक्ष पास्टर यमसिंह गुरुङ, खोज तथा उद्धार सुस्ता संयोजक आजाद खाँ लगायतको पनि सहभागिता थियो ।

नारायणी नदीको कटानका कारण सुस्ताका बासिन्दा वर्षेनि जोखिममा पर्दै आएका छन्। नदी कटानबाट बस्ती, खेतीयोग्य जमिन र स्थानीयको जनजीवन प्रभावित भइरहेका बेला तत्कालीन राहतसँगै दीर्घकालीन तटबन्ध तथा कटान नियन्त्रणका उपाय आवश्यक देखिएका छन्। राहत वितरण कार्यक्रमको सञ्चालन जरलैया युवा क्लबका सचिव धीरज गुरुङले गर्नुभएको थियो ।