

परासी,१४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी क्षेत्र नं. २ अन्र्तगत प्रदेशसभा क्षेत्र २(ख) को सभापति पदमा युवा नेता जीतेन्द्र अग्रहरी (दीपु)ले सशक्त उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।
पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै स्थानीय तहको जनप्रतिनिधिदेखि वडा नेतृत्वसम्मको अनुभव हासिल गर्नुभएका अग्रहरीले अब प्रदेशसभा क्षेत्रीय संगठनको नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा होमिनुभएको हो।
‘एक व्यक्ति, एक पद र एक कार्यकाल’ को मूलमन्त्रलाई आत्मसात् गर्दै राजनीतिमा सक्रिय रहनुभएका अग्रहरीले नेतृत्वमा जिम्मेवारी, जवाफदेहिता र पुस्तान्तरणको आवश्यकता औँल्याउँदै सभापति पदमा उम्मेदवारी दिनुभएको हो।
वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट रामग्राम नगरपालिका–६ को वडा अध्यक्षमा निर्वाचित अग्रहरीले जनप्रतिनिधिका रूपमा स्थानीय तहको अनुभवसमेत बटुलिसक्नुभएको छ। जनप्रतिनिधिको भूमिकापछि पनि उहाँ पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट वडा सभापतिको जिम्मेवारी सम्हाल्नुभएका अग्रहरीले वडा तहको संगठन सञ्चालन तथा कार्यकर्ता परिचालनमा काम गर्नुभएको अनुभवलाई अब प्रदेशसभा क्षेत्रीय संगठनमा उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी अघि सार्नुभएको हो।
पार्टीभित्र युवा पुस्ताको सहभागिता बढाउनुपर्ने, नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने र संगठनलाई अझ सक्रिय एवं कार्यकर्तामैत्री बनाउनुपर्ने विषयलाई प्राथमिकतामा राख्दै नेतृत्वको दौडमा अघि बढेको अग्रहरीले बताउनुभयो । उहाँको उम्मेदवारीले २(ख) मा युवा नेतृत्व, संगठनात्मक अनुभव र पुस्तान्तरणको बहसलाई थप चर्चामा ल्याएको छ।
स्थानीय तहको नेतृत्व सम्हालिसकेको अनुभवसँगै पार्टीको वडा तहमा नेतृत्व गरिसक्नुभएका अग्रहरीले प्रदेशसभा क्षेत्रीय नेतृत्वका लागि जिम्मेवारी दिन सबै मतदातासँग आग्रह गर्नुभएको छ। नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ ।