

परासी,२५ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल पश्चिम नवलपरासीका अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा बसेको विस्तारित बैठकले पार्टीका अर्का जिल्ला अध्यक्ष(तत्कालिन लोसपा समूहका) मुकुरजी गिरीलाई माफी माग्न सचेत गराएको छ ।
यही भदौ २१ गते पाल्ही बहुमुखी क्याम्पसमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा अध्यक्षता गर्नुभएका गिरीले कार्यक्रम समापनका क्रममा पार्टीका संरक्षक महन्थ ठाकुर र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरी अमर्यादित भाषा प्रयोग गरेको भन्दै जसपा नेपालको जिल्ला समितिले त्यसको घोर भत्र्सना गर्दै उक्त अभिव्यक्तिप्रति गिरीले पार्टीसँग माफी माग्नुपर्ने माग गरेको पार्टीका जिल्ला सचिव मदन यादवले जानकारी दिनुभयो ।

बैठकले पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार सांसदलाई पदबाट हटाउने प्रक्रियाको स्वागत गर्दै कारवाही प्रक्रिया अघि बढाउन माग गरेको छ। बैठकले जसपा नेपाल केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज ५ गतेभित्र नवलपरासी जिल्ला समायोजन सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
जिल्ला संगठनलाई व्यवस्थित र थप प्रभावकारी बनाउने उद्देश्यले समायोजन प्रक्रिया तोकिएको समयभित्रै पूरा गर्नुपर्नेमा बैठकले जोड दिएको सचिव यादवले बताउनुभयो । उहाँका अनुसार पार्टीको केन्द्रीय समितिले गरेको समायोजनमा नवलपरासीबाट थप सक्रिय तथा कर्मठ कार्यकर्तालाई केन्द्रीय कार्यसमितिमा मनोनयन गर्न केन्द्रीय समितिसमक्ष जोडदार माग गर्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकमा पार्टीका केन्द्रिय कार्यकारीणी सदस्य पुरन चौधरी, केन्द्रीय सदस्य तथा पूर्व रक्षाराज्यमन्त्री रामबचन यादव,केन्द्रिय सदस्यहरु मुन्नालाल गुप्ता, जोगकुमारी चौधरी लगायतको पनि सहभागिता थियो ।