

परासी,२३ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समूहबाट पदाधिकारीसहित पश्चिम नवलपरासीबाट कम्तीमा पाँच जनालाई केन्द्रीय समितिमा समावेश गर्न माग गरिएको छ। पार्टी समायोजनका क्रममा जिल्लाबाट लोसपा समूहलाई न्यायोचित प्रतिनिधित्व नदिइएको भन्दै तत्कालीन लोसपा समूहले यस्तो माग अघि सारेको हो।
तत्कालीन लोसपा समूहको जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले पश्चिम नवलपरासीबाट केन्द्रीय समितिमा अत्यन्तै न्यून संख्यामा मात्रै प्रतिनिधित्व गराइएको भन्दै पार्टीका संरक्षक महन्थ ठाकुरको ध्यानाकर्षण गराउने निर्णय गरेको जिल्ला अध्यक्ष मुकुरजी गिरीले बताउनुभयो।
बैठकले पश्चिम नवलपरासीबाट एक सहमहामन्त्रीसहित केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिमा गरी कम्तीमा पाँच जनालाई समायोजन गर्नुपर्ने माग गरेको छ। जिल्लाको राजनीतिक योगदान र संगठनात्मक उपस्थितिका आधारमा केन्द्रीय संरचनामा उचित प्रतिनिधित्व हुनुपर्ने अध्यक्ष गिरीले बताउनुभयो ।
यस्तै बैठकले जसपाबाट निर्वाचित लुम्बिनी प्रदेशका दुई मन्त्रीसहित चार जना सांसदलाई गरिएको कारबाही तत्काल फिर्ता लिन पनि माग गरेको छ । पार्टीभित्र निर्वाचित जनप्रतिनिधिमाथि गरिएको कारबाहीले प्रदेशको संगठनलाई थप कमजोर बनाउने भन्दै त्यसलाई पुनर्विचार गर्न संरक्षक ठाकुरको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको अध्यक्ष गिरीले जानकारी दिनुभयो।
पश्चिम नवलपरासीमा लोसपा हुँदै जसपा नेपालमा समायोजन भएको समूहले असन्तुष्टि जनाउन थालेपछि पार्टीभित्रको आन्तरिक समायोजन तथा संगठन व्यवस्थापनको विषय चुनौतिपूर्ण बनेको छ । यसैबीच पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा गत आइतबार परासीमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष यादवले झुटो बोलेको भन्दै जिल्ला अध्यक्ष मुकरजी गिरीले सम्बोधन गर्ने क्रममा यादवबाट अभद्र व्यवहार गरिएको भन्दै आपत्ति जनाउनुका साथै उक्त कार्यको घोर भत्र्सना गरिएको उक्त पार्टीले जनाएको छ ।