

परासी,२२ भदौ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-९ बेलाटारीबाट स्रोत नखुलेको नगद रकमसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको टोलीले बेलाटारीमा भारतीय यूपी ५६ बीएच ६५५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली नगद रु. २१ लाख ६० हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो ।
डीएसपी थापाका अनुसार मोटरसाइकलमा सवार प्रतापपुर गाउँपालिका–६, गुठीसौनीका २५ वर्षीय अंकित गुप्ता र सोही स्थानका २० वर्षीय अभिनन्दन गुप्तालाई उक्त रकमसहित नियन्त्रणमा लिइएको हो।
मोटरसाइकलमा लुकाइछिपाई ल्याइएको अवस्थामा उक्त रकम फेला परेपछि नगद, मोटरसाइकल तथा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बरामद रकमको स्रोत तथा प्रयोजन खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।