

परासी,१४ भदौ । पश्चिम नवलपरासीस्थित महामानव गौतम बुद्धको अस्थिधातु सुरक्षित रहेको एकमात्र मौलिक स्तूप रामग्राम स्तूपमा पहिलोपटक वर्षाबास बसिरहेका भिक्षुहरुलाई हरिओम फाउन्डेसन पोखरापालीका अध्यक्ष ओमप्रकाश अग्रहरीले भोजनदान गर्नुभएको छ।
रामग्राम स्तूप परिसरमा वर्षाबासका लागि बसेका भिक्षुहरुलाई सम्मान तथा धार्मिक सेवाभावका साथ अग्रहरीले आइतबार भोजनदान गर्नुभएको हो।
बौद्ध परम्परामा वर्षायाममा भिक्षुहरुले एकै स्थानमा बसेर अध्ययन, ध्यान तथा साधना गर्ने परम्परा रहेको छ।
रामग्राम स्तूपमा पहिलोपटक वर्षाबासको व्यवस्था भएपछि यहाँको धार्मिक तथा आध्यात्मिक गतिविधिमा थप उत्साह बढेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य समेत रहनु भएका अग्रहरीले वर्षाबासमा सहभागी भिक्षुहरुलाई भोजनदान गर्दै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै मानवीय सेवामा पनि आफ्नो संस्थाको निरन्तर साथ रहने बताउनुभयो।

भोजनदान कार्यक्रममा भिक्षुहरुले दाता अग्रहरीप्रति आभार व्यक्त गर्दै शान्ति, सद्भाव र मानव कल्याणको कामना गर्नुभएको थियो।
भगवान् गौतम बुद्धको अस्थिधातु सुरक्षित रहेको विश्वकै एकमात्र मौलिक स्तूपका रूपमा परिचित रामग्राम स्तूपमा यसवर्षदेखि वर्षाबासको सुरुवातले यसको धार्मिक महत्वलाई थप उजागर गरेको अग्रहरीको भनाइ थियो। स्तूपमा ५ जना भिक्षु तीन महिने वर्षावास बसिरहेका छन् ।