२०८३ भाद्र ११, बिहिबार
24 खबर अपडेट

रसुवा बाढीपीडितका लागि जिसन नवलपरासीको एक लाख पाँच हजार सहयोग

२०८३ भाद्र ११, बिहिबार प्रकाशित ( घण्टा अघि) १५३ पाठक संख्या

परासी,११ भदौ । शैक्षिक ऐक्यबद्धताको समूह जिसन नवलपरासीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु. १ लाख ५ हजार सहयोग गरेको छ।
बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले जिसन नवलपरासीले संकलन गरेको उक्त रकम जिल्ला प्रशासन कार्यालय नवलपरासीमार्फत बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।
संस्थाले विपद्को समयमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जिसन नवलपरासीका अध्यक्ष थमन शेरचनले बताउनुभयो ।
“प्राकृतिक विपद्का कारण घरबार, धनसम्पत्ति तथा दैनिक जीवनमा असर परेका परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो।” उहाँले भन्नुभयो ।
अध्यक्ष शेरचनको नेतृत्वमा आएको टोलीले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । विपद् कुनै क्षेत्र वा समुदाय विशेषको मात्र समस्या नभएकाले मानवीय भावनाका साथ सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जिसनका पूर्व अध्यक्ष इन्द्र गुरुङले जोड दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा भएपछि उक्त सहयोग रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रयोग हुने अपेक्षा गरिएको जिसनका सचिव बलिराम यादवले बताउनुभयो ।
विपद्का बेला गरिएको यस्तो सहयोगले पीडित परिवारलाई राहत पुग्नुका साथै सामाजिक एकता र मानवीय सहकार्यको सन्देशसमेत प्रवाह गरेको जिसनका प्रमुख सल्लाहकार सन्तोष रौनियारको विश्वास थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस