२०८३ भाद्र ४, बिहिबार
24 खबर अपडेट

नागरिक वडापत्र राख्न र प्रभावकारी कार्यान्वयनमा ध्यान दिन उपभोक्ता हित संरक्षण मञ्चको माग

२०८३ भाद्र ४, बिहिबार प्रकाशित ( घण्टा अघि) ८३ पाठक संख्या

परासी, ४ भदौ । पश्चिम नवलपरासीमा सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री बनाउन सरकारी कार्यालयहरूमा नागरिक वडापत्र अनिवार्य रूपमा राख्नुपर्ने भन्दै उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ।
मञ्चले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ध्यानाकर्षणपत्र बुझाउँदै सार्वजनिक सेवा दिने सरकारी निकायहरूले सेवाग्राहीको जानकारीका लागि नागरिक वडापत्रमा उल्लेख गरिएका सेवा, सेवा प्राप्त गर्ने तरिका, लाग्ने समय, शुल्क, जिम्मेवार कर्मचारी तथा गुनासो सुन्ने अधिकारीलगायतका विवरण स्पष्ट रूपमा राख्नुपर्नेमा त्यस्तो नेखिएको उल्लेख गरेको छ।
मञ्चका जिल्ला अध्यक्ष भोजराज बराकोटीका अनुसार नागरिक वडापत्र सार्वजनिक सेवा प्रदायक निकायले नागरिकलाई दिने सेवा र सेवा प्राप्तिको प्रक्रियाबारे गरेको लिखित प्रतिबद्धता हो। यसले सेवा प्रवाहलाई पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले कार्यालयमा नागरिक वडापत्र राख्नु मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयनसमेत आवश्यक रहेको उहाँको भनाइ छ । “जिल्लाका अधिकांश सरकारी कार्यालयमा नागरिक वडापत्रमा उल्लेख गरिएका विवरण देखिने गरी नराखिएको तथा सेवाग्राहीले सहज रूपमा हेर्न नपाउने अवस्था रहेको छ”, उहाँले भन्नुभयो ।
कार्यालय प्रवेश गर्ने स्थान वा सेवाग्राहीले सहजै देख्ने ठाउँमा स्पष्ट र अद्यावधिक नागरिक वडापत्र राख्ने व्यवस्था मिलाउन मञ्चले माग गरेको छ । नागरिक वडापत्र प्रभावकारी भए सेवाग्राहीले आफूले पाउने सेवा, आवश्यक कागजात, लाग्ने शुल्क र सेवा प्राप्त गर्न लाग्ने समयबारे पहिले नै जानकारी पाउन सक्ने मञ्चका सचिव ध्रुबराज ज्ञवालीले बताउनुभयो । “यसबाट अनावश्यक ढिलासुस्ती, अन्योल तथा बिचौलियाको प्रभाव न्यूनीकरण हुनुका साथै सरकारी सेवा प्रवाहप्रति नागरिकको विश्वाससमेत बढ्ने अपेक्षा छ”, उहाँले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस