२०८३ भाद्र २, मंगलबार
24 खबर अपडेट

वर्षौंदेखि अलपत्र खानेपानी आयोजना सञ्चालनमा ल्याउन सांसद यादवको माग

२०८३ भाद्र २, मंगलबार प्रकाशित ( घण्टा अघि) ६६ पाठक संख्या

परासी,२ भदौ । पश्चिम नवलपरासीसहित तराईका विभिन्न जिल्लामा वर्षौंदेखि अलपत्र अवस्थामा रहेका खानेपानी आयोजना तत्काल सञ्चालनमा ल्याउन सांसद रिंगला यादवले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले विशेषगरी हुलाकी सडकदेखि दक्षिणी क्षेत्र तथा भारतीय सीमावर्ती बस्तीमा निर्माण गरिएका खानेपानीका ट्यांकी तथा पूर्वाधार सञ्चालनमा नआउँदा राज्यको ठूलो लगानी उपयोगविहीन बनेको बताउनुभयो ।
नागरिकको करबाट निर्माण गरिएका संरचना वर्षौंसम्म सञ्चालनमा नआउनु सरकारको लापरबाही भएको भन्दै उहाँले प्रश्न गर्नुभयो, “निर्माण सम्पन्न भएका खानेपानीका आयोजना सञ्चालनमा ल्याउन सरकारले किन ध्यान दिएको छैन?”
शुद्ध खानेपानीको अभावमा स्थानीय नागरिक ह्यान्डपाइपको आर्सेनिकयुक्त पानी पिउन बाध्य रहेको उल्लेख गर्दै यादवले पछिल्लो समय कतिपय क्षेत्रमा ह्यान्डपाइपबाट समेत पानी आउन छाडेपछि खानेपानीको संकट झन् गहिरिँदै गएको उल्लेख गर्नुभयो ।
उहाँले आयोजना निर्माणपछि सञ्चालन, मर्मतसम्भार र व्यवस्थापनको जिम्मेवारी स्पष्ट नतोक्ने तथा समस्या देखिएपछि पनि समाधानका लागि ढिलाइ गर्ने प्रवृत्तिले सरकारी लगानीको औचित्यमाथि नै प्रश्न उठाएको तर्क गर्नुभयो । “खानेपानी नागरिकको आधारभूत आवश्यकता हो, नागरिकको करबाट निर्माण भएका संरचना वर्षौंसम्म प्रयोगविहीन राख्नु स्वीकार्य हुँदैन,” यादवले भन्नुभयो ।
यादवले अलपत्र खानेपानी आयोजनाको अवस्था तत्काल पहिचान गरी सञ्चालनमा आउन नसक्नुका कारण खोज्न, आवश्यक बजेट व्यवस्थापन गर्न र सम्बन्धित निकायबीच समन्वय कायम गर्न सरकारसँग माग गर्नुभयो । उहाँले निर्माण सम्पन्न भइसकेका खानेपानी आयोजना तत्काल सञ्चालनमा ल्याई प्रभावित नागरिकलाई नियमित, सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस