२०८३ भाद्र २, मंगलबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पतालमा सेवा सुधार गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग

२०८३ भाद्र २, मंगलबार प्रकाशित ( घण्टा अघि) ५९ पाठक संख्या

परासी,२ भदौ । पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पताल परासीमा बिरामीले भोग्दै आएका विभिन्न समस्याको तत्काल समाधान गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपाल, जिल्ला कमिटी नवलपरासीले माग गरेको छ ।
मञ्चका जिल्ला अध्यक्ष भोजराज बराकोटीको नेतृत्वमा गएको टोलीले अस्पताल व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाउँदै अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र बिरामीमैत्री बनाउन पाँचबुँदे सुधारको माग गरेको हो। बिरामीको उपचार तथा स्वास्थ्य परीक्षणका क्रममा अनावश्यक झन्झट र समयको बचत हुने गरी अस्पतालले सेवा सुधार गर्नुपर्नेमा जोड दिइएको मञ्चका अध्यक्ष बराकोटीले बताउनुभयो ।
ल्याब रिपोर्ट लिन बिरामीले दिउँसो २ बजेसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै १२ बजे र २ बजे गरी कम्तीमा दुई समयमा रिपोर्ट वितरण गर्ने व्यवस्था गर्न माग गरिएको छ। रिपोर्टका लागि लामो समय कुर्नुपर्दा बिरामी तथा आफन्तलाई थप समस्या हुने गरेको उहाँले बताउनुभयो ।
त्यस्तै अस्पतालको इमर्जेन्सी सेवामा खटिने स्वास्थ्यकर्मीले आफ्नो परिचय खुल्ने परिचयपत्र र अनिवार्य रूपमा युनिफर्म लगाउने व्यवस्था गर्न माग गरिएको छ। यसले बिरामी तथा सेवाग्राहीलाई सम्बन्धित स्वास्थ्यकर्मीको पहिचान गर्न सहज हुने मञ्चको अपेक्षा छ।
अस्पतालका शौचालय दुर्गन्धित तथा सरसफाइको अवस्था कमजोर रहेको भन्दै दिनमा कम्तीमा ४–५ पटक नियमित सफाइ गर्न पनि मञ्चले माग गरेको सचिव धु््रबराज ज्ञवालीले बताउनुभयो । अस्पतालजस्तो संवेदनशील स्वास्थ्य संस्थामा सरसफाइ र स्वच्छतालाई उच्च प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ।
अस्पताल परिसरमा प्रवेश गर्ने सेवाग्राही तथा अन्य व्यक्तिलाई मास्क अनिवार्य गर्ने व्यवस्था मिलाउन समेत मञ्चले आग्रह गरेको छ। अस्पतालमा विभिन्न रोग तथा संक्रमणका बिरामी आउने भएकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि मास्क प्रयोग प्रभावकारी हुने मञ्चको धारणा छ।
पश्चिम नवलपरासीमा मिर्गौला रोगीको संख्या र डायलाइसिस सेवाको आवश्यकता बढ्दै गएको भन्दै अस्पतालमा डायलाइसिस सेवाको क्षमता तथा संख्या विस्तार गर्न मञ्चले माग गरेको छ। डायलाइसिसका लागि बिरामीले पालो कुर्नुपर्ने तथा अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पतालको क्षमता विस्तार आवश्यक रहेको मञ्चको भनाइ छ।
मञ्चका अध्यक्ष बराकोटीले अस्पताल नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील संस्था भएकाले सेवा प्रवाहमा देखिएका कमजोरीलाई सामान्य रूपमा नलिई तत्काल सुधार गर्न अस्पताल प्रशासनसँग आग्रह गर्नुभयो । अस्पतालका अध्यक्ष जगदीश चौधरीले बिरामीको चाप बढ्दै गएको र सीमित स्रोत साधनका कारण व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो । हाल दैनिक ३०० देखि ५०० को संख्यामा बिरामी आउने गरेको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस