

परासी,३० असार । पश्चिम नवलपरासीबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध विक्रीवितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका–२ सुगौलीस्थित भित्री सडकबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ अमानिगञ्ज निवासी २५ वर्षीय सोहित कम्कर र सरावल गाउँपालिका–७ भुजहवा निवासी २३ वर्षीय मोहम्मद अफजल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यूपी ५६ एफ ९५२९ को भारतीय मोटरसाइकलमा सवार अन्सारीले बोकेको झोलाभित्र कालो प्लास्टिकको लुकाइराखिएको अवस्थामा डाइजोपाम ६४५ एम्पुल, फेनरागन ६४५ एम्पुल र बुप्रेनोफिन ६४५ एम्पुल गरी जम्मा १ हजार ९३५ एम्पुल लागूऔषध बरामद गरिएको हो।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबारविरुद्धको अभियानलाई अझ सशक्त बनाउँदै सूचनाको आधारमा निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।
