२०८३ अषाढ २२, सोमबार
24 खबर अपडेट

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ अषाढ २२, सोमबार प्रकाशित ( घण्टा अघि) १९५ पाठक संख्या


परासी, २२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता(दीपक) विरुद्ध तीन करोड ४५ लाख ११ हजार १६७ रुपैयाँ ८४ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार गुप्ताले पालिका अध्यक्ष निर्वाचित भएको पहिलो कार्यकालको अवधि २०७४ देखि २०७९ सम्म सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट देखिएको जनाएको छ।
अनुसन्धानमा उनको वैध आम्दानी ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ ८८ पैसा रहेको तर सोही अवधिमा ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ ७३ पैसा खर्च तथा लगानी गरेको भेटिएको उल्लेख छ। यसरी वैध आयभन्दा ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ ८४ पैसा बढी खर्च भएको देखिएकाले उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्ष आयोगले निकालेको हो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उक्त रकम बिगो कायम गरी कैद, जरिवाना तथा गैरकानुनी सम्पत्ति जफतको मागदाबी गरेको छ। साथै सार्वजनिक पदमा रहँदा पेश गरिएका सम्पत्ति विवरणमा वास्तविक विवरण नखुलाई झुटा विवरण पेश गरेको अभियोगसमेत लगाइएको छ।
सोही मुद्दामा गुप्ताका बुबा बंशराज गुप्ता, आमा धनमती तेली, श्रीमतीहरु शारदा आचार्य गुप्ता र सुलोचना गुप्ता लाई समेत गैरकानुनी रूपमा आर्जित सम्पत्ति उनीहरूका नाममा राखिएको आरोपमा प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस