२०८३ अषाढ २१, आईतबार
24 खबर अपडेट

अबैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न युवक पक्राउ, करिब ४३ लाखको कारोबार खुलासा

२०८३ अषाढ २१, आईतबार प्रकाशित ( घण्टा अघि) २३९ पाठक संख्या

परासी,२१ असार । नेपाल राष्ट्र बैंकको अनुमति बिना अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले पश्चिम नवलपरासीबाट एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका–२, अमानिगञ्जस्थित द भोड्का भ्याली डान्स बारबाट शनिबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका–१६ हकुई निवासी २० वर्षीय मनोहर गोंडलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको प्रहरी टोलीले गौडलाइ पक्राउ गरेको हो ।
डीएसपी थापाका अनुसार पक्राउ परेका मनोहरको साथबाट बरामद गरिएको आईफोन १७ प्रो म्याक्स मोबाइलको डिजिटल परीक्षण गर्दा Bybit र Binance एपमार्फत विभिन्न समयमा ठूलो परिमाणमा क्रिप्टोकरेन्सी कारोबार भएको फेला परेको छ।
प्रारम्भिक अनुसन्धानमा Bybit मा २६,३२४.६३०३२ USDT (करिब ४० लाख १३ हजार रुपैयाँ) र Binance मा १,८०५.४२६४२ USDT (करिब २ लाख ७३ हजार रुपैयाँ) बराबरको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।
हालको विनिमय दरअनुसार यी कारोबारको कुल रकम करिब ४२ लाख ८६ हजार ४ सय ४० रुपैयाँ बराबर रहेको प्रहरीको दाबी छ।
पक्राउ परेका गोंडविरुद्ध जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुर (भौतिक मुद्राको प्रयोग गर्न नहुने) अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकको अनुमति बिना क्रिप्टोकरेन्सीको खरिद–बिक्री, भुक्तानी वा विनिमय सम्बन्धी कारोबार गर्न कानूनले निषेध गरेको छ।त्यसैले नेपालभित्र यस्तो कारोबार गर्नु गैरकानुनी मानिन्छ ।
क्रिप्टोकरेन्सी भनेको सरकार वा केन्द्रीय बैंकले जारी नगरेको, इन्टरनेटमार्फत प्रयोग हुने डिजिटल पैसा हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस