

मोहन पौडेल
परासी, १७ असार । पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्र पाल्हीनन्दन–१ महेशपुरमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यका साथ नेपाल नेत्र ज्योति संघ, डा. बिनोद–नीता कण्डेल आँखा अस्पताल परासीले आफ्नो पाँचौँ शाखाका रूपमा महेशपुर रिफरल सेन्टर (आँखा उपचार केन्द्र) सञ्चालनमा ल्याएको छ ।
उपचार केन्द्रको बुधबार एक विशेष समारोहका बीच नेपाल नेत्र ज्योति संघका केन्द्रीय सह–कोषाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मञ्जु कण्डेलले औपचारिक उद्घाटन गर्नुभयो । उहाँले महेशपुरमा केन्द्र सञ्चालनसँगै नेपालका साथै सीमावर्ती भारतीय नागरिकले पनि सहज, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

महेशपुर रिफरल सेन्टरबाट शल्यक्रियाबाहेक आँखा सम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध हुने अस्पतालका व्यवस्थापक अजय पाण्डेले दैनिक24 खबर डमकमलाई जानकारी दिनुभयो । “यस केन्द्रमार्फत महेशपुर तथा आसपासका बस्तीका नागरिकका साथै सीमावर्ती भारतीय क्षेत्रका सेवाग्राहीलाई पनि सहज र पहुँचयोग्य आँखा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।”, उहाँले भन्नुभयो ।
समारोहमा नेपाल नेत्र ज्योति संघ नवलपरासी शाखाका उपसभापति गोपालप्रसाद शर्मासहित नेपाल तथा सीमावर्ती भारतका जनप्रतिनिधि, समाजसेवी र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैबीच आँखा उपचार केन्द्र उद्घाटनको अवसरमा महेशपुरमै आयोजित निःशुल्क आँखा शिविरमा २३० जना सेवाग्राहीको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा १४ जना मोतियाबिन्दुका बिरामी शल्यक्रियाका लागि छनोट भएका छन्। शिविरमा सहभागी सबैलाई निःशुल्क आँखा परीक्षण तथा आवश्यक औषधि वितरण गरिएको अस्पतालले जनाएको छ।
छनोट भएका सबै मोतियाबिन्दुका बिरामीको डा. बिनोद–नीता कण्डेल आँखा अस्पताल, परासीमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापक पाण्डेले बताउनुभयो ।

महेशपुरमा आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रका नागरिकलाई सामान्य आँखा उपचारका लागि टाढासम्म धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसले ग्रामीण तथा सीमावर्ती क्षेत्रमा गुणस्तरीय आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको नेपाल नेत्र ज्योति संघ नवलपरासीका सहसचिव अनिल कुमार उपाध्यायले उल्लेख गर्नुभयो ।

