

परासी,११ असार । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा महिलाहरूको सीप अभिवृद्धि तथा सांस्कृतिक कला संरक्षण गर्ने उद्देश्यले मादल बजाउने तालिम सञ्चालन गरिएको छ।
नमूना महिला समाजको आयोजना तथा रामग्राम नगरपालिकाको सहयोगमा बिहीबारदेखि सुरु गरिएको तालिममा संस्थामा आबद्ध ३५ जना महिलाको सहभागिता रहेको छ।
नमूना महिला समाजकी अध्यक्ष सरिता पौडेलले महिलाहरूलाई परम्परागत कला र संस्कृतिसँग जोड्दै आत्मविश्वास र नेतृत्व विकासमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।
“मादल नेपाली लोकसंस्कृतिको महत्वपूर्ण बाजा हो, महिलाहरूले पनि यसलाई सिकेर सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्न सकून् भन्ने उद्देश्यले तालिम आयोजना गरेका हौं,” उहाँले भन्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले महिलाको सशक्तीकरणका लागि सीपमूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै यस्ता गतिविधिमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“महिलाहरूलाई सीप र संस्कृतिसँग जोड्ने यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउँछन्,” उहाँले भन्नुभयो।

विशेष अतिथि नगर उपप्रमुख सम्झना चौधरीले महिलाको प्रतिभा उजागर गर्न यस्ता तालिम प्रभावकारी हुने बताउँदै सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा कार्यपालिका सदस्य नानू खड्का, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भोजराज बराकोटी , परासी प्रेस क्लवका अध्यक्ष मोहन पौडेल लगायतले मन्तव्य व्यक्त गर्दै तालिमले कला, संस्कृति र महिला सशक्तीकरणलाई जोड्ने विश्वास व्यक्त गर्नुभएको थियोे ।
तालिम करिब एक हप्तासम्म सञ्चालन हुने र सहभागी महिलाहरूलाई मादल बजाउने आधारभूतदेखि व्यावहारिक सीप प्रदान गरिने संस्थाकी सचिव कविता ज्ञवालीले जानकारी दिनुभयो। तालिममा श्रुति संगीत विद्यालयका प्रमुख लोक बहादुर मिजारले प्रशिक्षण दिनुभएको छ ।
