

मोहन पौडेल
परासी, ३ जेठ । पश्चिम नवलपरासीको सुनवल–४ स्थित सुनवल यूनाइटेड अंग्रेजी आवासीय माविले एसइईमा सर्वाधिक ४ जीपीए ल्याउने विद्यार्थीलाई जनही नगद रु ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा(एसइई) २०८२ मा सर्वाधिक ४ जीपीए हासिल गर्न सफल दुई जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्ने विद्यालयले घोषणा गरेको हो । उक्त विद्यालयबाट परीक्षामा सहभागि अनिस न्यौपाने र असल रेग्मीले ४/४ जीपीए ल्याएर विद्यालयको इतिहासमा नयाँ किर्तिमान राख्न सफल भएका छन् ।

त्यस्तै एलेक्स थापा,कृपन घिमिरे,लेविसा सेन,विपिन चापागाई लगायतका विद्यार्थीहरुले पनि ए प्लस ग्रेड हासिल गर्न सफल भएका छन् ।कूल १८ जना विद्यार्थी सहभागि भएको उक्त परीक्षामा सबै विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण हुन सफल भएको विद्यालयले जनाएको छ ।
दुई जना विद्यार्थीलाई सर्वाधिक ४ जीपीए दिलाउन सफल सुनवल यूनाइटेड स्कुल सुनवल नगरकै एकमात्र विद्यालय हो । विद्यालयले एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लामै सर्वाेत्कृष्ट नतिजा हासिल गर्न सफल भएको प्रधनाध्यापक धनराज चापागाईले जानकारी दिनुभयो । “विद्यार्थीको मेहनत, शिक्षकहरुको समर्पण र अभिभावकको साथ सहयोगले यो सफलता सम्भव भएको हो”, उहाँले भन्नुभयो ।
उच्चतम अंक हासिल गर्ने विद्यार्थीको मनोबल थप बढाउने र आगामी शैक्षिक यात्रालाई पनि प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कार घोषणा गरिएको उहाँले बताउनुभयो । “सर्वाधिक अंक ल्याउने विद्यार्थीले विद्यालयको प्रतिष्ठा बढाएका छन्,उनीहरुलाई पढाइप्रति थप प्रेरित र प्रोत्साहन गर्ने हाम्रो उद्देश्य हो”, प्रधानाध्यापक चापागाईले भन्नुभयो ।
शैक्षिक गुणस्तरलाई जोड दिँदै व्यवहारिक शिक्षा प्रदान गर्दै आएको यस विद्यायलले एसइईमा जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको खुशीयालीमा बाजागाजासहित विद्यार्थी, शिक्षक र अभिभावकको सहभागितमा विजय र्यालीले सुनवल नगर परिक्रमा गरी उत्सव मनाएको थियो । “सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने पूर्ववत निर्णय नै हो, यस वर्ष मात्र होइन, आगामी शैक्षिक सत्रहरुमा पनि ४ जीपीए ल्याउन सफल हुने विद्यार्थीलाई नगद रु ५० हजार पुरस्कार प्रदान गर्ने कार्य निरन्तर हुन्छ”, प्रधानाध्यापक चापागाइले भन्नुभयो।

