२०८३ जेष्ठ ४, सोमबार
24 खबर अपडेट

सामुदायिक अस्पताललाई प्रभावकारी बनाउन कानून संशोधन आवश्यक : सांसद खनाल

२०८३ जेष्ठ ३, आईतबार प्रकाशित ( घण्टा अघि) ५६ पाठक संख्या

परासी, ३ जेठ । नवलपरासी क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य विक्रम खनालले देशभरका सामुदायिक अस्पतालहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारले कानुन संशोधन गरेर सहजीकरण गर्नुपर्ने बताउनुभएको छ । नवलपरासीको बर्दघाट–१४ स्थित सहीद स्मृति सामुदायिक अस्पतालको आइतबार सम्पन्न वार्षिक साधारण सभामा बोल्दै सांसद खनालले उक्त धारणा राख्नुभएको हो ।
स्थानीय पालिकाहरूमा १५ शैयाका स–साना अस्पतालहरू बनाउनुभन्दा ‘एक निर्वाचन क्षेत्र, एक सुविधा सम्पन्न अस्पताल’ को अवधारणा अनुरूप विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । समुदाय स्तरबाट दुःख गरी सञ्चालनमा रहेका यस्ता अस्पतालहरूलाई सरकारले आफ्नै मातहत सरह आवश्यक नियम परिमार्जन गरी सहयोग गर्नुपर्ने र सहीद स्मृति सामुदायिक अस्पताललाई यस क्षेत्रकै एउटा महत्त्वपूर्ण र सुविधायुक्त अस्पतालको रूपमा विकास गरिनुपर्ने उहाँको भनाइ थियो ।
वि.सं. २०६६ सालमा स्थानीय नागरिकहरूले महायज्ञ सञ्चालन गरी संकलन गरेको सहयोग रकमबाट यस अस्पतालको स्थापना भएको थियो । अस्पताल सञ्चालक समितिका सदस्य युवराज डुम्रेका अनुसार हाल यस अस्पतालमा ४० जना स्वास्थ्यकर्मीहरू कार्यरत रहेका छन् र यसले यस क्षेत्रका नागरिकलाई निरन्तर सेवा दिँदै आएको छ ।
सो अवसरमा संविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकी मगर तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ लगायतले पनि अस्पतालको प्रगतिको कामना गर्दै आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना र चुनौतीहरूका बारेमा समेत छलफल गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस