

मोहन पौडेल
परासी, २ जेठ । २०८२ सालको माध्यमिक शिक्षा परीषा(एसइई)मा पश्चिम नवलपरासीको सुनवल नगरपालिकामै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल विद्या सागर प्रसिद्ध इङ्ग्लिस बोर्डिङ स्कुल सुनवल–१२ हरकट्टाले उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । उत्कृष्ट नतिजा ल्याएर विद्यालयको समेत गौरब बढाएको भन्दै उत्र्तीण विद्यार्थीलाई पञ्चेबाजासहित विजय उत्सव समेत मनाइएको थियो ।
सोही अवसरमा नयाँ शैक्षिक सत्र २०८३ मा विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत पनि गरिएको छ । एसइईमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्या सागर प्रसिद्ध बोर्डिङ स्कुलले शनिबार विद्यालयमा भव्य समारोहकाबीच एसइई उत्र्तीण २२ जना विद्यार्थीलाई सम्मान गर्दै उज्वल भविष्यको शुभकामना व्यक्त गरेको हो ।
उक्त विद्यालयबाट एसइईमा सहभागि छात्रा अस्मी न्यौपानेले ४.० जीपिए ल्याउँदै उच्चतम उपलब्धि हासिल गरेकी छन्। परीक्षामा सहभागि कूल २२ विद्यार्थी मध्ये एक जनाको ४ जीपिएसहित १५ जनाले ए प्लस र ७ जनाले ए ग्रेड ल्याएर उत्कृष्ट अंकका साथ शतप्रतिशत उत्र्तीण हुन सफल भएको विद्यालयका प्रधानाध्यापक देबु भट्टराईले जानकारी दिनुभयो ।
विद्यार्थीको अथक मेहनत र अनुशासन, शिक्षकको समर्पण, अभिभावकको विश्वास तथा आधुनिक शिक्षण पद्धतिको प्रभावकारी प्रयोगले उत्कृष्टता हासिल गर्न सफल भएको बताउनुभयो। एसइईमा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकहरुलाई पनि विद्यालयले सम्मान गरेको छ । २२ जना विद्यार्थी मध्ये आफूले अध्यापन गराएको विषयमा २१ विद्यार्थीलाई ए प्लस ग्रेड दिलाउन सफल विद्यालयका प्रधानाध्यापक देवु भट्टराईलाई विशेष सम्मान गरिएको विद्यालयका सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर भुसालले जानकारी दिनुभयो ।
विद्यलयले २०८२ सालको विएलइ परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई समेत पुरस्कार वितरण गरेको छ भने यस वर्ष भर्ना भएका १७२ जना नयाँ विद्यार्थीलाई अभिभावकसहित स्वागत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले विद्यालयले नाम जस्तै विद्याको सागरमा गुणस्तरीय शिक्षा प्रदान गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो । सुनवल नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयले गुणस्तर सुधार गर्दै अघि बढेको भन्दै नगर प्रमुख अर्यालले सुनवललाई शैक्षिक हब बनाउने लक्ष्यका साथै लगानी गरिरहेको उल्लेख गर्नुभयो । गुणस्तरीय शिक्षासँगै संस्कार र सीपसहितको शिक्षा आवश्यक रहेकोमा जोड दिँदै मेयर अर्यालले सुनवलको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
वि.स. २०५९ मा स्थापना भएको उक्त विद्यालय सुनवल नगरकै पहिलो अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आईएसओ) चिन्ह प्राप्त विद्यालयसमेत हो। हाल विद्यालयमा साढे पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। पछिल्लो समय विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको विद्यालयका प्रबन्ध निर्देशक चोलाकान्त रेग्मीले जानकारी दिनुभयो ।
