

परासी, ३१ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित हिलेरियस चिल्ड्रेन एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै नगरकै उत्कृष्ट विद्यालयको रूपमा आफूलाई स्थापित गरेको छ।
रामग्राम–४, सुर्यपुरामा अवस्थित उक्त विद्यालयबाट परीक्षामा सहभागी सबै विद्यार्थी ग्रेडसहित उत्तीर्ण भएका हुन्। यससँगै हिलेरियस चिल्ड्रेन एकेडेमी रामग्राम नगरपालिकाभित्र शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने एकमात्र विद्यालय बनेको शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । रामग्राममा निजी तथा सामुदायिक गरी २४ विद्यालय परीक्षामा सहभागि भएका थिए ।
विद्यालयका प्रिन्सिपल जनार्दन ठाकुरका अनुसार विद्यार्थी बृजमोहन गुप्ताले ३.८१ जीपीए प्राप्त गर्दै विद्यालय टपर बनेका छन्। त्यस्तै नुरआलम अन्सारी, शिल्पा गुप्ता तेली र आशिष यादवले पनि ए प्लस ग्रेड हासिल गर्दै विद्यालयको गौरव बढाएका छन्।
कुल २६ विद्यार्थीमध्ये ४ जनाले ए प्लस, १६ जनाले ए, ४ जनाले बी प्लस तथा २ जनाले बी ग्रेड प्राप्त गरेका छन्। प्रिन्सिपल ठाकुरले यस उपलब्धिलाई विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगको प्रतिफल भएको प्रतिक्रिया दिनुभयो । “यो सफलता हाम्रो सम्पूर्ण टिमवर्कको परिणाम हो।,आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै यस्ता उत्कृष्ट उपलब्धिलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ।” उहाँले भन्नुभयो ।
विद्यालयले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ। शिक्षा क्षेत्रमा गुणस्तर सुधार र विद्यार्थीको समग्र विकासलाई प्राथमिकतामा राख्दै आएको यस विद्यालयको यो सफलता अन्य विद्यालयका लागि पनि प्रेरणादायी बनेको स्थानीयले बताएका छन्।
