२०८३ बैशाख ३१, बिहिबार
24 खबर अपडेट

निजी क्षेत्रमैत्री नीति तथा कार्यक्रम स्वागतयोग्य, तर संवादको अभाव : उपाध्यक्ष शर्मा

२०८३ बैशाख ३०, बुधबार प्रकाशित (0 घण्टा अघि) १०५ पाठक संख्या

मोहन पौडेल
परासी, ३० वैशाख — नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष कृष्णप्रसाद शर्माले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम निजी क्षेत्रमैत्री रहेको बताउनुभएको छ । तर, निजी क्षेत्रसँग पर्याप्त संवाद नगरी कार्यक्रम ल्याइनु सरकारको कमजोरी भएको उहाँको भनाइ छ ।
बुधबार परासीमा नवलपरासी उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई, शुभकामना तथा पूर्वबजेट छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्माले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । “सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने कुरा सकारात्मक हो, तर व्यवहारमा संवाद अझ प्रभावकारी हुनुपर्छ,” उहाँले भन्नुभयो ।
एमआरपी अनिवार्य गर्ने विषयमा देखिएका व्यावहारिक जटिलता समाधानका लागि सरकारसँग पहल भइरहेको जानकारी दिँदै शर्माले व्यवसायीहरू स्वयं पनि जिम्मेवार र सचेत बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले महेशपुर भन्सारको स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण तथा परासीमा आन्तरिक राजश्व कार्यालय स्थापना जस्ता माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा निजी क्षेत्रमैत्री रहेको धारणा राख्नुभयो । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले महेशपुर भन्सारको पूर्ण कार्यान्वयन, पूर्वाधार विकास, आन्तरिक राजश्व कार्यालय स्थापना, पर्यटन प्रवद्र्धन तथा व्यवसायीहरूले भोगिरहेका समस्याप्रति महासंघको ध्यानाकर्षण गराउनुभयो ।
उक्त अवसरमा महासंघ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष गुणनिधि तिवारी, महासंघका नवनिर्वाचित केन्द्रिय सदस्यहरु केशव भण्डारी, हरिप्रसाद अर्याल, यज्ञप्रसाद भट्टराई, नवलपरासी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वीरेन्द्र अग्रहरी, वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी, जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पौडेल, सिटिजन जुरीका अध्यक्ष रामजी ज्ञवाली, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भोजराज बराकोटी लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको संघकी महासचिव तारा आचार्यले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस