

मोहन पौडेल
परासी, २९ वैशाख । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाभित्रका विद्यालयहरूमध्ये यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा विद्या सागर प्रसिद्ध इङ्ग्लिस बोर्डिङ स्कुल सुनवल–१२ हरकट्टाले सर्वाेत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । विद्यालयले शत प्रतिशत उत्तीर्ण नतिजा निकाल्दै शैक्षिक गुणस्तरमा आफूलाई अब्बल सावित गरेको हो।
यस वर्षको एसइईमा विद्यालयकी छात्रा अस्मी न्यौपानेले ४.० जीपिए ल्याउँदै विद्यालय मात्र होइन, नगरपालिकामै उच्चतम उपलब्धि हासिल गरेकी छन्। उनीसँगै यस विद्यालयका अन्य धेरै विद्यार्थीहरूले पनि ए प्लस र ए ग्रेड प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन्।
विद्यालयबाट एसइई परीक्षामा सहभागि कूल २२ विद्यार्थी मध्ये एक जनाको ४ जीपिएसहित १५ जनाले ए प्लस र ७ जनाले ए ग्रेड ल्याएर उत्कृष्ट अंकका साथ शतप्रतिशत उत्र्तीण हुन सफल भएको विद्यालयका प्रधानाध्यापक देबु भट्टराईले दैनिक24 खबर डटकमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसर अञ्जिला पटेल (३.९१ जीपिए), कोपिला गुप्ता (३.८५ जीपिए), युबराज सापकोटा (३.८३ जीपिए), दोसाना क्षेत्री (३.८२ जीपिए) लगायतका विद्यार्थीहरूले पनि उत्कृष्ट अंकसहित सफलता प्राप्त गरेका छन्। साथै अन्य विद्यार्थीहरूले पनि उल्लेखनीय नतिजा ल्याउँदै समग्रमा शतप्रतिशत सफलता हासिल भएको विद्यालयले जनाएको छ।
प्रधानाध्यापक भट्टराईका अनुसार विद्यार्थीको मेहनत, शिक्षकको समर्पण, अभिभावकको विश्वास तथा आधुनिक शिक्षण पद्धतिको प्रभावकारी प्रयोगले यस्तो उत्कृष्ट सफलता सम्भव भएको हो। उहाँले भन्नुभयो,“हामीले विद्यार्थीको सर्वाङ्गीण विकाससँगै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएका छौँ, यस वर्षको नतिजाले हाम्रो निरन्तर प्रयासलाई थप पुष्टि गरेको छ।”

सुनवलका विद्यालयको नतिजा
विद्यालयका प्रबन्ध निर्देशक चोलाकान्त रेग्मी ले विद्यालयले किताबी ज्ञानमा मात्र सीमित नरही व्यवहारिक, जीवनोपयोगी तथा मूल्यमा आधारित शिक्षामा जोड दिँदै आएको बताउनुभयो। उहाँका अनुसार विद्यालयमा आधुनिक प्रविधिमैत्री शिक्षण प्रणाली, सुरक्षित वातावरण र विद्यार्थीमैत्री पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको छ।
“विद्यालयमा अन्र्तराष्ट्रिय मापदण्डको शैक्षिक वातावरण, संस्कार लागू गरेका छौँ, प्रविधिमैत्री शिक्षालाई उच्च प्राथमिकता दिएर अघि बढेका छौँ”, उहाँले भन्नुभयो । वि.स. २०५९ मा स्थापना भएको उक्त विद्यालय सुनवल नगरकै पहिलो अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आईएसओ) चिन्ह प्राप्त विद्यालयसमेत हो।
हाल विद्यालयमा साढे पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। पछिल्लो समय विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। यसै वर्ष मात्रै १७२ जना नयाँ विद्यार्थी भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएको छ।

