

मोहन पौडेल
परासी, २८ वैशाख । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा भएको आगलागीबाट प्रभावित १२ घरपरिवारसहित १३ घरधुरीलाई स्थानीय समाजसेवी एवं युवा नेता राजेश प्रसाद चौधरीले राहतस्वरुप टिनका जस्तापाता सहयोग गर्नुभएको छ । गत वैशाख ८ गते भएको भीषण आगलागीबाट उक्त गाउँका १२ घर जलेर नष्ट भएका थिए ।
टाटीले छाएका कच्ची घरहरुमा आगलागी हुँदा करिब ५० लाखको क्षति भएको थियो । आगलागीका कारण घरबारविहीन भई खुल्ला आकाशमुनि बस्न बाध्य पीडित परिवारलाई अस्थायी आवास निर्माणमा सहज होस् भन्ने उद्देश्यले प्रति घरधुरीलाई ८ वटाका दरले छानो छाउन जस्तापाता सहयोग गरेको चौधरीले बताउनुभयो । युवा समाजेसवी चौधरीले आफ्नो व्यक्तिगत खर्चमा उक्त सहयोग गर्नुभएको हो ।
“अग्निपीडित परिवारलाई विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएपनि मैले स्थलगत निरीक्षण गर्दा खुल्ला आकाशमुनी पीडित परिवारहरुले गुजारा चलाउनुपरेको देखेपछि पीडित १२ घरधुरीसहित स्थानीय एक विपन्न परिवारलाई पनि जस्तापाता उपलब्ध गराएको हुँ”, उहाँले भन्नुभयो ।

राहत सामग्री हस्तान्तरण गर्दै समाजसेवी चौधरीले विपद्को समयमा सबैले पीडितको साथ दिनुपर्ने बताउँदै आगलागी प्रभावित परिवारलाई पुनःस्थापनाका लागि थप सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । पीडित परिवारहरूले कठिन परिस्थितिमा प्राप्त सहयोगले ठूलो राहत मिलेको बताएका थिए ।
राहत वितरण कार्यक्रममा वडा अध्यक्ष रमेश बानिया,समाजसेवी विनोद ठाकुर, राजेश्वर सिंह चौधरी,नेवास हजाम, आदित्य पाल लगायत स्थानीयवासीको समेत सहभागिता रहेको थियो। समाजसेवा र राजनीतिमा सक्रिय युवा नेता चौधरी प्रतापपुर र सुस्ता क्षेत्रमा लोकप्रिय हुनुहुन्छ । यसअघि पनि उहाँले आफ्नो व्यक्तिगत तथा विभिन्न संघ संस्थाको समन्वय र सहयोगमा प्रतपापुर र सुस्ताका विभिन्न विद्यालयको भवन निर्माण, विपन्न समुदायको घर निर्माण गर्नुृभएको थियो ।

