२०८३ बैशाख २५, शुक्रबार
24 खबर अपडेट

विश्व रेडक्रस दिवसमा परासीमा बिरामीलाई फलफूल वितरण

२०८३ बैशाख २५, शुक्रबार प्रकाशित ( घण्टा अघि) ९३ पाठक संख्या

परासी, २५ वैशाख । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीले विश्व रेडक्रस दिवसको अवसरमा शुक्रबार परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ।
“मानवताका लागि सेवा” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो। कार्यक्रममा रेडक्रस जिल्ला शाखाका पदाधिकारी, सदस्य, कर्मचारी, स्थानीय समाजसेवीहरुको सहभागिता थियो ।
यस किसिमको मानवीय कार्यले बिरामीमा सकारात्मक ऊर्जा थप्ने र स्वास्थ्य लाभमा समेत सहयोग पुग्ने कार्यक्रममा सहभागि रेडक्रसकर्मीले विश्वास व्यक्त गरेका छन्। रेडक्रसले विगतदेखि गर्दै आएको मानवीय सेवा अझ प्रभावकारी बनाउन यस्ता गतिविधि निरन्तर गरिने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीका सभापति राजेन्द्र अग्रहरीले बताउनुभयो ।
विपद् व्यवस्थापन, रक्तदान, स्वास्थ्य सेवा तथा सामाजिक सहयोगका क्षेत्रमा रेडक्रसको योगदान उल्लेखनीय रहेको बताउँदै सभापति अग्रहरीले समाजमा सहयोग र सहानुभूतिको भावना अभिवृद्धि गर्न सबैलाई आह्वानसमेत गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटीले हरेक वर्ष विश्व रेडक्रस दिवसको अवसरमा विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको छ। हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने गरिएको छ । रेडक्रस र रेडक्रस आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न यो दिवस मनाउने गरिएको हो ।
समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस