

परासी, १४ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–३ घोडपालीस्थित लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा अमरचन्द्र अग्रवाल निर्वाचित हुनुभएको छ । मन्दिरको शनिबार सम्पन्न ३० औँ वार्षिक साधारणसभाले आगामी ५ वर्षका लागि अग्रवालको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
नवगठित नौ सदस्यीय समितिको उपाध्यक्षमा कृष्ण पाण्डेय,सचिवमा अनुराग कुमार अग्रवाल,कोषाध्यक्षमा अञ्जु अग्रवाल तथा सदस्यहरुमा गुरुप्रसाद शर्मा, भुवनेश्वर अग्रवाल,शम्भु अग्रवाल, जानकीदेवी सुवेदी र श्याम अग्रवाल रहनुभएको छ।
नवनिर्वाचित अध्यक्ष अमरचन्द्र अग्रवालले मन्दिरको समग्र विकास, संरक्षण तथा सम्बद्र्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो । “हाम्रा पुर्खाहरुले निर्माण गरेर जोगाइरहेको यस मन्दिरको भौतिक पूर्वाधार सुधार, धार्मिक तथा सांस्कृतिक गतिविधि विस्तार, साथै मन्दिर क्षेत्रको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउने छौँ”, उहाँले भन्नुभयो ।

उक्त मन्दिर वि.स.२०३८ सालमा निर्माण भएको थियो । कार्यक्रममा सहभागिहरुले स्थानीयवासी तथा श्रद्धालुहरूको सहभागितामा मन्दिरलाई धार्मिक आस्थाको केन्द्रका रूपमा थप व्यवस्थित र आकर्षक बनाउन जोड दिएका थिए ।
मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामजीलाल अग्रवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्थानीय समाजसेवीहरु कृष्ण पाण्डे, गुरुप्रसाद शर्मा, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष अर्जुन बहादुर क्षेत्री, नागरिक समाजका पूर्व अध्यक्ष राधेश्याम सिंह सैथवार,नेपाल नेत्र ज्योति संघका सहसचिव अनिल उपाध्याय,मन्दिरका पुजारी गिरीराज पाण्डेय लगायतले शुभकामना व्यक्त गर्दै नयाँ समितिले मन्दिरको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

