२०८३ कार्तिक ११, मंगलबार
24 खबर अपडेट

राम मन्दिर निर्माण भएपछि बर्दघाटे कालिका मन्दिर परिसरमा पशुबलि दिन रोक

२०८२ माघ २४, शनिबार प्रकाशित (८ महिना अघि) ६४७ पाठक संख्या

मोहन पौडेल
परासी, २४ माघ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ भुजहवास्थित ऐतिहासिक बर्दघाटे कालिका मन्दिरमा अब पशुबलि दिन नपाइने भएको छ। मन्दिर परिसरमै राम मन्दिर स्थापना गरिएपछि धार्मिक सहअस्तित्व र अहिंसाको भावनालाई आत्मसात गर्दै शुक्रबारबाट बलि दिन रोक लगाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
राम मन्दिर निर्माण गरी शुक्रबार रामजानकीको मूर्ति प्राणप्रतिष्ठा गर्ने कार्य सम्पन्न भएकोले अवदेखि बर्दघाट कालिका मन्दिर परिसर क्षेत्रलाई सात्त्विक र शान्त धार्मिक स्थलका रूपमा विकास गर्ने उद्देश्यले पशुबलि दिन रोक लगाउने निर्णय गरिएको समितिका अध्यक्ष वीरेन्द्र यादवले दैनिक ट्वान्टीफोर खबर डटकमलाई जानकारी दिनुभयो ।

मन्दिर परिसरमा पशुको अक्षत दिन मात्र मिल्ने तर काट्न र पकाउन भने नमिल्ने उहाँले बताउनुभयो । मन्दिर परिसरमा पूजा, आराधना, भजन–कीर्तन तथा दीप प्रज्वलनजस्ता आध्यात्मिक गतिविधिलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो ।
सरावल–७ वडा अध्यक्ष हेयात खाँ धुनियाको तर्फबाट वडाले विनियोजन गरेको रु दश लाखको लागतमा राम मन्दिर निर्माण गरिनुका साथै वडाकै सहयोग र अन्य सहयोग संकलनबाट मूर्ति स्थापना तथा प्राणप्रतिष्ठाको कार्य सम्पन्न गरिएको अध्यक्ष यादवले बताउनुभयो ।
स्थानीय मात्र नभइ नेपाल तथा भारतबाट समेत यस मन्दिरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्न श्रद्धालु भक्तजनहरु यस मन्दिरमा आउने गर्दछन् । बडादशैँ, चैते नवमी तथा प्रत्येक सोमबार भक्तजनको विशेष भीड लाग्ने यस मन्दिरमा भाकल गरेको पुग्ने विश्वासका साथ पशुबलि दिने गरिन्थ्यो ।
पशुबलिमा रोक लगाइएपछि धार्मिक सहिष्णुता कायम राख्न तथा पशु हिंसामुक्त पुजा संस्कृतिलाई बढवा दिन टेवा पुग्ने स्थानीयको विश्वास छ । यस क्षेत्रकै पूरानो ऐतिहासिक महत्व बोकेको यस मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अनुरुप काम भइरहेको व्यवस्थापन समितिले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


↑