परासी, १६ वैशाख । पश्चिम नवलपरासी जिल्लामा सञ्चालित स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको त्रैमासिक समिक्षा तथा साझेदार संस्थाहरुसँगको समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
सोमबार सम्पन्न बैठकमा स्वास्थ्य कार्यालय, जिल्लास्थित पालिकाहरु तथा साझेदार संस्थाहरुद्धारा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको प्रगति तथा समिक्षा प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले जिल्लामा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिरहेका साझेदार संस्थाहरु र पालिकाहरुबीच आवश्यक समन्वय र सहकार्यको अभाव देखिएको बताउनुभयो ।
जिल्लाको स्वास्थ्य सेवा कार्यक्रमहरु थप प्रभावकारी बनाउन साझेदार संस्थाहरुले पालिकासँगको समन्वय सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य क्षेत्रमा गरिएको लगानी अनुसारको प्रतिफल नदेखिएको भन्दै उहाँले संवेदनशील भएर लक्ष्य हासिल गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले नेपाल सरकार, स्थानीय सरकार र विकास साझेदार संस्थाहरुसँग समन्वय, साझेदारी र सहकार्यमार्फत जिल्लाको जनस्वास्थ्य प्रवद्र्धनमा स्वास्थ्य कार्यालय सक्रिय रहेको बताउनुभयो।
कार्यक्रममा पृथ्वीचन्द्र अस्पताल परासीका मेसु डा.मोहम्मद नुरुल होदा, पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु, विकास साझेदार संस्थाका प्रतिनिधिहरु लगायतले जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको प्रभावकारीताका विषयमा प्रकाश पार्नुभएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी यवदेव न्यौपानेले जानकारी दिनुभयो ।
C1