दुम्किबास, २४ फागुन। विनयी त्रिवेणी गाउँपालिका नवलपरासी ब.-सु.पू.को आयोजनामा महिला हिंसा, महिला हक अधिकार सम्बन्धी कानुनी व्यवस्था र अवस्था विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
“सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण” भन्ने नाराका साथ मनाइएको ११५ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकाको त्रिवेणी, सर्दि र दुम्किबासमा क्रमशः फागुन २२,२३ र २४ गते कार्यक्रम आयोजना गरिएको सामाजिक विकास शाखा प्रमुख लिलाधर चापागाईले जानकारी दिनुभयो ।
सर्दिमा भएको कार्यक्रमको उद्घाटन गर्दै विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरिले गाउँपालिकाले महिला हिंसा न्यूनिकरणका लागि काम गरिरहेको बताउनुभयो ।
उहाँले हरेक आ.ब.मा गाउँपालिकाले महिलामैत्री बजेट विनियोजन गर्ने, निति तथा कार्यक्रममा महिला विकास र सशक्तिकरणलाई समेटेको दाबी गर्नुभयो ।
त्रिवेणी र दुम्किबासमा भएको कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष भगवती बैदवारले महिला हिंसाका घटनामा कमि नआएको बताउदै हिंसाको स्वरुप परिर्वतन भएको बताउनुभयो ।
उहाँले विभिन्न कार्यक्रम मार्फत गाउँपालिका भित्रका महिलालाई हिंसाबारे सचेत बनाउदै पिडितलाई न्यायका लागि निरन्तर सहयोग गर्दै आइरहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा वडा नं.६ का अध्यक्ष नुरेन्द्र शाहले तराईमा महिला हिंसाको डरलाग्दो स्थिती रहेको बताउदै हिंसा विरुद्ध सर्वप्रथम महिला स्वयम्ले आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले महिला हिंसा न्यूनिकरणका लागि बस्तीस्तरमा सचेतनामूलक कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा नं.२ का अध्यक्ष पुष्पा आलेले शिक्षित महिला पनि हिंसामा पर्नुको कारण हाम्रो पितृसत्तात्मक समाज र सोच भएको बताउनु भयो । उहाँले यसको अन्त्यका लागि सबैएकजुट हुुनुपर्ने बताउनुभयो ।
करिब ६०० सहभागी अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले महिलाहरु अझै पनि हिंसाबाट पिडित भएको र न्याय पाउन कठिन रहेको बताउदै महिला हिंसा न्यूनिकरणका लागि सम्बन्धीत सबैले आ-आफ्नो ठाउँबाट काम गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख राजन प्रसाद तिम्सिना, जिल्ला प्रहरी कार्यालय नवलपरासी ब.-सु.पू.का महिला सेल प्रमुख विन्दु बि.क. र पत्रकार शान्ती बि.क.ले सहजीकरण गर्नु भएको थियो ।
Pal1