२०८१ पौष २४, बुधबार
24 खबर अपडेट

थारु समुदायको संस्कृति र परम्परागत खानाका परिकारसहित मनरीमा थारु रिसोर्ट सञ्चालन

२०८१ पौष २२, सोमबार प्रकाशित ( दिन अघि) ८३२ पाठक संख्या

मोहन पौडेल
परासी, २२ पुस । आदिवासी थारु समुदायको कला, संस्कृति र परम्परागत खानाका परिकारको स्वाद लिन पाउने गरी पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा थारु रिसोर्ट सञ्चालनमा आएको छ । सरावल–२ मनरीस्थित थारु सांस्कृतिक पार्क नजिकै थारु युवाकै लगानीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको हो ।
अटो तथा ग्यारेज व्यवसायमा जमेका मनरीकै स्थायी बासिन्दा नगेन्द्र चौधरीले लोप हुँदै गएको थारु संस्कृतिलाई संरक्षण गर्न र आन्तरिक तथा बाह्रय पर्यटकलाई लक्षित गरी थारु रिसोर्ट  सञ्चालनमा ल्याउनुभएको हो ।  थारुका सम्पूर्ण परिकारसहित अन्य आधुनिक परिकारहरु पनि पाईने उहाँले बताउनुभयो ।
″आफ्नै गाउँमा केही गरौँ भन्ने सोच थियो र अहिले गाउँमै थारु सांस्कृतिक पार्क निर्माणाधिन अवस्थामा रहेकोले विशेषगरी यहाँ आउने पर्यटकलाई लक्षित गरी पार्ककै नजिक १२ कठ्ठा जग्गा लिजमा लिएर रिसोर्ट सञ्चालनमा ल्याएको हुँ″, चौधरीले भन्नुभयो । थारु संस्कृतिको बारेमा बुझ्न समेत थारु रिसोर्टले टेवा पुग्ने आफूले विश्वास लिएको उहाँले बताउनुभयो ।
रिसोर्टमा स्थानीय उत्पादनलाई प्रयोग गरी परिकार बनाउने गरिएको चौधरीको भनाई छ । ″गाउँघरको उत्पादन चामल, दाल,तरकारीहरु, मासुमा गाउँमै पालेका हाँस, परेवा,स्थानीय पोखरीको ताजा माछा लगायत स्थानीय उत्पादनलाई नै जोड दिएर अर्गानिक खानाका परिकार पस्किने प्रयास गरेको छु″,उहाँले भन्नुभयो । थारुका परिकार लोप हुँदै गएको र खान मन लाग्दा पनि टाढा जानुपर्ने अवस्थालाई बुझेर पनि यो व्यवसायमा हात हालेको उहाँको भनाई छ ।
हाल करिब ८० जना अट्ने क्षमताको सभाहल, कटेजसहित खानाका परिकार उपलब्ध गराईएको छ भने केही समयपछि थारु कला र संस्कृति झल्कने नृत्य प्रदर्शनी हेर्न पाउने सेवा पनि थप गर्ने तयारीमा रहेको सञ्चालक चौधरीले जानकारी दिनुभयो । थारु रिसोर्ट सञ्चालनमा आएसँगै थारु समुदायको बाहुल्यता रहेको सरावल गाउँपालिकामा उनीहरुको भाषा, संस्कृति र परिकारका बारेमा जानकारी गराउँदै प्रचारप्रसार हुने र पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कोरोना महामारीपछि धेरै व्यवसाय खस्किँदै गएको तर होटल व्यवसायमा थोरै भएपनि सम्भावना देखेपछि विदेश जानुभन्दा गाउँमै सेवा गर्ने सोचका साथ आफू होटल व्यवसायमा लागेको सञ्चालक चौधरी बताउनुहुन्छ । हालसम्म करिब ३० लाख लगानी भईसकेको तर संरचनाहरु निर्माण गर्ने क्रम भने जारी नै रहेको सञ्चालक चौधरीले उल्लेख गर्नुभयो । रिसोर्टमा शुरुवातमै सात जनाले रोजगारी समेत पाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%१%

प्रतिक्रिया दिनुहोस