परासी, २ मंसिर । नेपाल मुस्लिम ईत्तेहाद संगठन पश्चिम नवलपरासीले अर्बान फुड इन्डस्ट्रिज प्रालि थानकोटलाई कारवाही गर्न माग गरेको छ । उक्त उद्योगले मुस्लिम समुदायको धर्म र संस्कृतिमाथि आघात पुर्याउने काम गरेको भन्दै संगठनले आपत्ति जनाएको हो ।
संगठनका जिल्ला ईन्चार्ज एवं केन्द्रिय सदस्य काशिद अलिको नेतृत्वमा आएको टोलीले आज प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारका गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र पठाउँदै कारवाहीको माग गरेको हो ।
उक्त उद्योगले बंगुरको ससेजमा हलालको लोगो राखेर बजारमा पठाएपछि मुस्लिम समुदायले आपत्ति जनाएका हुन् । मासुबाट ससेज, मोमो, सलामी जस्ता प्रोडक्टहरु उत्पादन गर्दै आएको अर्बान फुड इन्डस्ट्रिज प्राइभेट लिमिटेडले इस्लाम धर्मले सम्पूर्ण रुपमा बर्जित गरेको ’बंगुर’ को मासुबाट बनाइएको ससेजको प्याकेटमा ’हलाल’ लेखेर बिक्रि गरेको अलिले बताउनुभयो ।
उहाँका अनुसार इस्लाम धर्ममा आस्था राख्नेहरुको लागि बंगुर पूर्णरुपमा बर्जित जनावर हो। यससंग जोडिएका कुनै पनि परिकार वा प्रकार इस्लाम धर्ममा आस्था राख्ने मुस्लिम समुदायमाथि पूर्ण रुपमा बर्जित गरिएको छ। तर अर्बान फुडले इस्लाम धर्ममा बर्जित बंगुरलाई नै हलाल भनेर बिक्रि गरेपछि यत्तिखेर अर्बान फुडको आलोचना भएको हो।
ज्ञापनपत्रमा भनिएको छ,“सम्पुर्ण नेपालीहरु एउटा धार्मिक सहिष्णुताका साथ बसोबास गर्दै आ–आफ्नो धर्म, संस्कृति र रितिरिवाज मनाउँदै आएको र सम्पुर्ण नेपालीहरु एउटै परिवारको रुपमा बसोबास गरि आएकोमा आज एउटा उद्योगले हाम्रो धर्म र संस्कृतिमा ठुलो आघात पर्ने गरि गरेको उत्पादन कार्य प्रति घोर आपत्तिका साथ बिरोध गर्दै ’हलाल’ लोगोलाई अबिलम्ब हटाउनका लागि जोडदार माग गर्दछौं।”