परासी, १ मंसिर । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.११ को पहाडी क्षेत्र बेवरेस्थित जय श्री आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री एवं न्यानो कपडा वितरण गरिएको छ । भूमही क्षेत्रमा क्रियाशील युवाहरुको संस्था रामनगर जेसीजले शुक्रबार विद्यालयमै पुगेर उक्त सामग्री सहयोग गरेको हो ।
उक्त विद्यालयमा कक्षा नर्सरीदेखि पाँचसम्म अध्ययनरत सबै १८ जना बालबालिकालाई एक वर्षका लागि पुग्ने शैक्षिक तथा खेलकुदका सामग्री र न्यानो कपडा वितरण गरिएको रामनगर जेसीज वर्ष २०२४ का अध्यक्ष देव भट्टराईले जानकारी दिनुभयो ।
जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय संस्था भएपनि सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रामीण क्षेत्रमा रहेको उक्त विद्यालयका विपन्न बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष भट्टराईले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक घनश्याम सापकोटाले ग्रामीण क्षेत्रमा आएर यहाँका बालबालिकालाई आवश्यक पर्ने सामग्री सहयोग गरेकोमा रामनगर जेसीज परिवार र अध्यक्ष देव भट्टराईलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । उहाँले आफू पनि रामनगर जेसीजको सदस्य रहेको र रामनगर जेसीजले यस वर्ष उत्कृष्ट कार्यक्रमहरु गरिरहेको भन्दै खुशी व्यक्त गर्नुभएको रामनगर जेसीजका महासचिव डिल्लीराम सुवेदीले जानकारी दिनुभयो ।