२०८३ बैशाख ६, आईतबार
24 खबर अपडेट

बर्दघाट—१३ का मुसहर समुदायले पाए अनुदानमा घर

२०७८ जेष्ठ २३, आईतबार प्रकाशित ( साल अघि) ९३५ पाठक संख्या

मोहन पौडेल
परासी, २३ जेठ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका — १३ का मुसहरले निःशुल्क घर पाएका छन् । लुम्बिनी प्रदेश सरकारको अनुदानमा यहाँका सात मुसहर घरपरिवारका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको हो ।
अतिविपन्न तथा सीमान्तकृत समुदायलाई आवासको व्यवस्था गर्ने सरकारको योजना अनुसार जनता आवास कार्यक्रम मार्फत निर्माण गरिएका घर आज एक समारोहकाबीच लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले उद्घाटन गर्नुभयो ।
प्रदेश सरकारले लिएको लक्ष्य अनुसार जनता आवास कार्यक्रम मार्फत अतिविपन्न समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । यस किसिमको कार्यक्रम विपन्न समुदायमा प्रभावकारी देखिएको उहाँको भनाई थियो ।
सरकारले भूमिहीनलाई भूमि र घर नभएका अतिविपन्नलाई घर बनाईदिने नीति लिएको उहाँले बताउनुभयो । उक्त अवसरमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले खरको छानो विस्थापित गर्ने कार्यक्रम सञ्चालन गरेकोमा निकै प्रभावकारी बनेको बताउनुभयो ।
नगरपालिकाले अतिविपन्न समुदायहरुलाई लक्षितगरी खरको छानो मुक्त अभियान र सुरक्षित आवास कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । नगर उपप्रमुख माया पौडेलले वडा नं. १३ अन्य वडाको तुलनामा पछाडि परेकोले त्यस क्षेत्रको विकासका लागि आफू लागिरहेको बताउनुभयो ।
जनता आवास कार्यक्रम अन्र्तगत घर पाएका बर्दघाट नगरपालिका— १३ की लक्ष्मी मुसहरले खुशी व्यक्त गर्नुभयो । आफ्नो बाउबाजेको पुस्ता नै माटोको खपडा र खरको छानोमा गुजारा चलाउँदै आएकोमा अहिले सरकारले बनाईदिएको घरमा बस्न पाउँदा खुशी लागेको बताउनुभयो ।
पश्चिम नवलपरासीमा चालु आवमा लुम्बिनी प्रदेश सरकारको अनुदान रकमबाट विपन्न ६८ परिवारका लागि निःशुल्क आवास निमार्ण गर्ने योजना अनुसार चारवटै प्रदेश निर्वाचन क्षेत्रमा १७ वटाको दरले निर्माण भएको प्रदेशसभा सदस्य अधिकारीले बताउनुभयो । उहाँका अनुसार बर्दघाट नगरपालिकाको वडा नम्वर १३ मा ७ वटा,वडा नम्वर ४ मा ५ वटा र वडा नम्वर १४ मा ५ वटा जनता आवासका घरहरु निमार्ण भएका छन् । वडाध्यक्ष नरबहादुर चौधरीको अध्यक्षता र स्थानीय युवा समाजसेवी विक्रम पौडेलको सहजीकरणमा कार्यक्रम भएको थियो ।
आजै लुम्बिनी प्रदेश सभा सदस्य अधिकारीले बर्दघाट नगरपालिका वडा नम्वर १३ लेवडामा निमार्ण गर्न लागिएको मुख्यमन्त्री ग्रामीण आवास कार्यक्रम अन्र्तगतका घरको शीलान्यास गर्नुभयो । मुख्यमन्त्री ग्रामीण आवास कार्यक्रममा नगरक्षेत्रका अतिविपन्न समुदायहरुलाई लक्षितगरी वडाको सिफारीसमा आवास निमार्ण गरिनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस