२०८३ आश्विन २६, सोमबार
24 खबर अपडेट

मदारबाबा मेला व्यवस्थापन गर्न दुई जिल्लाको संयुक्त समिति गठन,तयारी तीव्र

२०७९ माघ २१, शनिबार प्रकाशित (३ साल अघि) ११२४ पाठक संख्या

नवलपरासी, २१ माघ । मुस्लिम र हिन्दु धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थल मदारबाबा मेलाको तयारी तीव्र पारिएको छ । प्रत्येक वर्ष लाखौँै भक्तजनको उपस्थितिमा लाग्दै आएको मेला व्यवस्थापन गर्न यस वर्ष नवलपरासी पश्चिम र पूर्व दुवैतर्फको संयुक्त व्यवस्थापन समिति गठन गरेर तयारी तीव्र पारिएको हो ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ मा भएको दुवै जिल्लाको संयुक्त भेलाले लाल महम्मद अन्सारीको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन गरेर मेलाको तयारीलाई तीव्रता दिएको समितिका सचिव मनि कुमार श्रेष्ठले जानकारी दिनुभयो । विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाह, वडा नं. ७ का वडा अध्यक्ष उमेश कार्की, सुस्ता २ का वडा अध्यक्ष कृष्णलाल मुखिया तथा सुरक्षा निकायका प्रमुखहरुसहितको उपस्थितिमा भएको सयुक्त भेलाले मूल समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा मोहम्मद रफी, सचिवमा मनि कुमार श्रेष्ठ, कोषाध्यक्षमा रियाजुलक अन्सारी,सहसचिवमा अजमुद्धिन मिया लगायत रहनुभएको छ । समितिले माघ २७ देखि फागुन ६ गतेसम्म यस वर्षको मेला सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी मेलामा सुस्ता २ महलबारी मस्जिदका मठाधिस अमिरुल्लाह अन्सारी नै परम्परादेखि मदारीडाँडाको गद्दीमा आसिन हुने परम्परालाई यसवर्ष पनि निरन्तरता दिने समितिले निर्णय गरेको छ ।
महाशिवरात्रीसम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका गरी लाखौँ दर्शनार्थीहरुको घुँईचो लाग्ने गर्दछ । मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठूलो र ऐतिहासिक स्थल हो । विशेषगरी मुस्लिम समुदायको धार्मिक स्थल भएपनि त्यहाँ हिन्दु, बौद्ध धर्मावलम्बीको पनि आगमन हुने गरेको छ । यो स्थानको प्रवेशद्धार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीमा र मुख्य समाधिस्थल भने महलबारीबाट उत्तर नौ किलोमिटर विनयी त्रिवेणीको मदारीडाँडामा रहेको दुई जिल्लावासीको दाबी छ । मदारीडाँडामा पैदलयात्रा मार्फत पुग्न सकिन्छ ।
जिल्ला सदरमुकाम परासीबाट २७ किलोमिटर पुर्व तथा पुर्वपश्चिम राजमार्गको बर्दघाटदेखि २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा हिन्दुहरुको पर्व शिवरात्री शुरु हुनुभन्दा एक हप्ता अघि देखि ठूलो मेला लाग्ने गर्दछ ।
मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फुलबारीपार्क क्षेत्रमा समेत तपस्या गरेको इतिहास पाइन्छ । यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वास समेत रहेको छ । मदारथान(मदारबाबाको समाधिस्थल) पुग्न सुस्ता–२ महलवारीबाट करिब ३ देखि ४ घन्टाको पहाड चढेर जानुपर्दछ । मदारबाबाको पूरा नाम हजरत बदिउदिन कुतुबुल मदार शाह रहमतुल्ला अलैहे हो । मदारबाबाले उक्त स्थानमा दुई पटकसम्म ४०÷४० दिन तपस्या गर्नु भएको थियो । त्यहाँ पुग्ने दर्शनार्थीहरू रातभर जाग्राम बस्ने गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस


↑