२०८३ बैशाख ६, आईतबार
24 खबर अपडेट

ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रमबाट नवलपरासीमा ५ हजार बढी लाभावन्ति,यसवर्ष फागुनमै कार्यक्रम शुरु हुने

२०७९ माघ १९, बिहिबार प्रकाशित ( साल अघि) ८८१ पाठक संख्या

मोहन पौडेल
परासी, १९ माघ । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ७० वर्ष माथिका ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रमबाट पश्चिम नवलपरासीमा पाँच हजार बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।
सत्तरी वर्ष पूरा गरेका ज्येष्ठ नगारिकलाई तीन महिनामा एकपटक घरमै स्वास्थ्य सेवाको पहुँच पुर्याई उनीहरुको जीवनलाई सुविधायुक्त बनाउने तथा थप उपचारको आवश्यकता देखिएमा सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि परामर्श तथा राय प्रदान गर्न प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
विगतमा ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई यो सेवा दिँदै आएकोमा गत वर्ष सशंोधन गरी सत्तरी वर्षदेखि माथिका ज्येष्ठ नागरिकलाई यो सेवा प्रदान गर्न थालिएको हो । प्रदेश सरकारले स्वास्थ्य कार्यालय परासीको समन्वय र स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरेको उक्त कार्यक्रमबाट गत आ.व.२०७८।७९ मा जिल्लाभर पाँच हजार ५४४ ज्येष्ठ नागरिकले घरमै निःशुल्क स्वास्थ्य सेवा पाएका हुन् ।
आज स्वास्थ्य कार्यालय परासीले गरेको उक्त कार्यक्रमको समिक्षा तथा कार्ययोजना तयारी कार्यक्रममा उक्त जानकारी गराईएको हो । यस कार्यक्रममार्फत गत वर्ष जिल्लाभर सात हजार १६० ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा कम प्रगति भएको छ । जिल्लामा रामग्राम नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले मात्रै लक्ष्य अनुसारको सेवा प्रदान गरेको स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलले जानकारी दिनुभयो ।
तीन तीन महिनामा सेवा दिने भनिएपनि कार्यक्रमको लागि आएको बजेटले एक पटक पनि सबै लक्षित ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा दिन नसकिने अवस्था रहेको उहाँको भनाई छ । तथापी स्वास्थ्यकर्मीले यो सेवा दिइरहेका छन् । उहाँका अनुसार रामग्राममा एक हजार १८० ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने लक्ष्य रहेकोमा लक्ष्य भन्दा धेरै अर्थात एक हजार २१२ सेवाग्राहीले यो सेवा पाएका छन् । पाल्हीनन्दनमा ७१० जनालाई सेवा दिने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी ७३४ जनालाई सेवा दिईएको छ ।
प्रतापपुरमा ९९० जनालाई सेवा दिने लक्ष्य राखिएकोमा शत प्रतिशत सेवा प्रदान गरिएको छ । जिल्लामा सबैभन्दा कम प्रगति बर्दघाट नगरपालिकामा देखिएको छ। बर्दघाट नगरपालिकाले एक हजार ४४५ जनालाई सेवा दिने लक्ष्य लिएकोमा जम्मा ३७१ जनालाई मात्र यो सेवा दिएको छ । सुस्ता गाउँपालिकाले पनि ७८५ लाई सेवा दिने लक्ष्य राखेकोमा ३७९लाई मात्र सेवा दिएको छ । यसैगरी सुनवल नगरपालिकाले एक हजार २७० लाई सेवा दिने लक्ष्य लिएकोमा एक हजार १७२ लाई मात्र सेवा दिएको छ भने सरावल गाउँपालिकाले ७८० लाई सेवा दिने लक्ष्य लिएकोमा ६८६ लाई मात्र सेवा दिएको छ ।
स्वास्थ्य परीक्षणको क्रममा अधिकांश ज्येष्ठ नागरिकमा दम, श्वासप्रस्वास,ग्यास्टीक,प्रेसर, सुगर, आँखा तथा छालाको समस्या देखिने गरेको छ । गत वर्ष ढिलो गरी कार्यक्रम कार्यान्वयन हुनु, बजेटको सीमितता, औषधी तथा उपकरणको अभाव लगायतका कारण लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसकिएको सम्बन्धित पालिकाका स्वास्थ्य शाखाका प्रमुखहरुले बताएका छने ।
बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपाने, सुस्ता गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख निर्मला कुशवाहा, सरावल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम देवकोटा, रामग्राम नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन, पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्य शाखाका अजय पटेल, प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखाका उपेन्द्र कोईरीले आआफ्नो पालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालनको क्रममा औषधीको अभाव, गुणस्तरीय उपकरणको अभाव, नियमित नहुनु,सेवाग्राहीको अनपेक्षित अपेक्षा,लक्षित समूहका सबै ज्येष्ठ नागरिकलाई भेट्न नसकिने लगायतका समस्या भोग्नुपरेको शाखा प्रमुखहरुको भनाई थियो ।
सेवा प्रवाह गरेवापत स्वास्थ्यकर्मीलाई दिईने पारिश्रमिक घटाएर भएपनि लक्षित समूहका सबै ज्येष्ठ नागरिकलाई नियमित रुपमा स्वास्थ्य सेवा पुर्याउन सक्ने व्यवस्था मिलाउन स्वास्थ्यकर्मीले जोड दिएका छन् । ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिएवापत प्रदेश सरकारले पश्चिम नवलपरासीका स्वास्थ्यकर्मीलाई प्रतिव्यक्ति रु २५० का दरले उपलब्ध गराउने गरेको छ । स्वास्थ्यकर्मीले भने बजेट अपुग हुने भए प्रति व्यक्ति रु १०० बनाएर भएपनि कार्यक्रमलाई नियमित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । जनस्तरमा कार्यक्रम प्रभावकारी भएपनि बजेट अभावले लक्ष्य अनुसारको सेवा दिन समस्या भईरहेको स्वास्थ्यकर्मीको अनुभव छ ।
यस वर्ष ५८०८ लाई सेवा दिईने
प्रदेश सरकारले सञ्चालन गरिरहेको ७० वर्ष माथिका ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम अन्र्तगत यस वर्ष पाँच हजार ८०८ ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिने लक्ष्य राखिएको छ । स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक पौडेलका अनुसार बर्दघाटमा १०८२,सुनवलमा १०३२, रामग्राममा १०८६,पाल्हीनन्दनमा ६५०, सरावलमा ६५५, प्रतापपुरमा ८५३ र सुस्तामा ४५० जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिने गरी कार्ययोजना बनाईएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले फागुनको पहिलो हप्तादेखि नै कार्यक्रम कार्यान्वयन गर्न आग्रह गर्नुभयो । स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मीको लागि कार्यालयबाट उपलब्ध गराईएको औषधी र उपकरणसहितको किट झोलासहित लक्षित वर्गको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न उहाँले आग्रह गर्नुभएको थियो । स्थानीय तहले अपनत्व लिएर यो कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको जोड थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस