२०८३ बैशाख २८, सोमबार
24 खबर अपडेट

को हुन् पश्चिम नवलपरासीबाट समानुपातिक सांसद बनेकी सरिता भुसाल ?

२०७९ मंसिर २६, सोमबार प्रकाशित ( साल अघि) २८८० पाठक संख्या

मोहन पौडेल
परासी, २६ मंसिर । नेकपा एमाले पश्चिम नवलपरासीकी नेतृ सरिता भुसाल समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभमा समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको नेकपा एमालेले आफूले पाएको ३४ सिटमा सांसद छान्ने क्रममा राजनीतिसँगै लामो समय शिक्षण पेशामा आवद्ध रहनुभएकी भुसाललाई खस आर्य महिला कलष्टरबाट सांसद बनाएको हो ।
वि.स.२०४४ सालमा अनेरास्ववियुमा आवद्ध हुँदै राजनीतिमा प्रवेश गर्नुभएकी भुसाल हाल एमाले केन्द्रीय सदस्य तथा पश्चिम नवलपरासी जिल्ला ईन्चार्ज हुनुहुन्छ । एमालेको चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो ।
२०२८ मंसिर १९ गते अर्घाखाँचीमा जन्मनुभएकी भुसाल पारिवारिक पृष्ठभूमिबाटै राजनीतिमा आउनुभएको हो । २०५२ सालमा नवलपरासी माकर बर्दघाटका एमाले नेता बद्री खनालसँग वैवाहिक जीवनमा बाँधिएपछि भुसाल एमालेको तत्कालिन माकर गाउँ कमिटीको उपसचिव, जिल्ला सदस्य,प्रदेश सदस्य हुँदै केन्द्रीय सदस्य बन्नुभएको हो । उहाँ एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
२०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी नेतृ भुसाल २०४७ सालमा अनेमसंघको जिल्ला सहसचिव बन्नुभएको थियो । विद्यार्थी, यूवा, महिला लगायत विभिन्न जनवर्गीय संगठनमा सक्रिय रहँदै पार्टीमा क्रियाशील रहनुभएकी भुसाल प्रगतिशील प्राध्यापक संगठनको पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । दिव्यज्योति बहुमुखि क्याम्पस चिसापानी बर्दघाटमा लामो समय प्राध्यापन गर्नुभएकी भुसालले २०४७ सालमा पार्टीको संगठीत सदस्यता पाउनुभएको थियो ।

समाजका विभिन्न विकृत्ति र विसंगति हटाउनुपर्छ भन्ने अभियानमा संलग्न हुने क्रममा तत्कालिन कांग्रेस नेतृत्वको सरकारद्धारा हत्या गरिएका वशिर मियाको शव बोकेर भुसाल चर्चामा आउनुभएको थियो । पार्टीकै काममा संलग्न हुँदा कांग्रेसले अर्घाखाँची जिल्लामा महिला माथि कुटपिट गर्दा न्याय नपाएको भन्दै नेतृ भुसाल जिल्ला प्रशासन कार्यालयमा पन्ध्र दिन धर्नामा बस्नुभएको थियो ।
अध्ययनको क्रममा विद्यार्थीकालमा पद्मकन्या क्याम्पसमा स्ववियू सदस्य पदको उम्मेदवार बन्नुभएकी नेतृ भुसाल त्रिभुवन विश्व विद्यालय कीर्तिपुरको अनेरास्ववियु प्रारम्भीक कमिटीको कोषाध्यक्ष बनेर विद्यार्थीको हकहितका लागि लड्नुभएको थियो । नवनिर्वाचित सांसद भुसालले पार्टी जिम्मेवारीसहित विकास र समृद्धिको सपना साकार पार्ने अभियानमा योगदान गर्ने बताउनुभएको छ ।

नेतृ भुसालसँगको कुराकानीमा आधारित

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१७%१०%३%१%४%

प्रतिक्रिया दिनुहोस