

मोहन पौडेल
परासी,१० असार । पश्चिम नवलपरासीमा चालु आर्थिक वर्षमा ३४ जना नयाँ एचआईभी संक्रमित बिरामी थपिएका छन्। तीमध्ये १९ जना पुरुष र १५ जना महिला रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रतापपुर गाउँपालिकामा आयोजना गरिएको एचआईभीसम्बन्धी लान्छना तथा भेदभाव न्यूनीकरण अभिमुखीकरण कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो।
कार्यक्रममा स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलले जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै संक्रमितको संख्या बढ्दो देखिएको बताउनुभयो । यो तथ्यांक साउनदेखि जेठसम्मको हो ।
उहाँका अनुसार सबैभन्दा बढी संक्रमित बर्दघाट नगरपालिकामा रहेका छन् भने त्यसपछि रामग्राम नगरपालिका र सुनवल नगरपालिकामा संक्रमितको संख्या बढी देखिएको छ। गत वर्ष भने जिल्लामा ५२ जना एचआईभी संक्रमित रहेको तथ्याङ्क थियो।
एचआईभीबारे जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई जानकारी गराउनुका साथै संक्रमितप्रति हुने लान्छना र भेदभाव न्यूनीकरण गर्नका लागि स्वास्थ्य कार्यालयले प्रतापपुर र सुनवलका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरेको हो ।
स्वास्थ्य कार्यालयले अब स्वास्थ्यकर्मीमार्फत विद्यालय तहसम्म एचआईभी सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। यस अन्तर्गत जिल्लाका रामग्राम, सुनवल र बर्दघाट नगरपालिका तथा प्रतापपुर गाउँपालिकाका माध्यमिक विद्यालयहरूमा लक्षित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। सरोकारवालाहरूले एचआईभी संक्रमितप्रति सकारात्मक व्यवहार तथा सामाजिक समर्थन अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।
