२०८३ अषाढ ११, बिहिबार
24 खबर अपडेट

रास्वपाको प्रस्तावप्रति हृदयेश त्रिपाठीको कडा आपत्ति

२०८३ अषाढ ११, बिहिबार प्रकाशित ( घण्टा अघि) ८४ पाठक संख्या

परासी,११ असार । पूर्वमन्त्री हृदयेश त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रस्तुत केही प्रस्तावहरू देश र लोकतान्त्रिक व्यवस्थाका लागि घातक रहेको टिप्पणी गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै त्रिपाठीले रास्वपाले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्तावले केन्द्रीकृत शासन प्रणालीलाई बलियो बनाउने र अन्ततः तानाशाही प्रवृत्तिलाई जन्म दिने दाबी गर्नुभएको छ ।
नेपाल बहुलवादी तथा विविधतायुक्त समाज भएको र लामो समयसम्म तानाशाही शासनको पीडा भोगिसकेको यथार्थलाई स्मरण गर्दै उहाँले यस्तो प्रस्ताव मुलुकका लागि उपयुक्त नरहेको जिकिर गर्नुभयो ।
त्यस्तै, प्रदेश संरचना खारेज गर्ने प्रस्तावप्रति पनि उहाँले कडा आपत्ति जनाउनु भएको छ । एउटा समुदायलाई खुसी पार्ने उद्देश्यले ल्याइएको उक्त प्रस्ताव एकात्मक सोच र साम्प्रदायिक दृष्टिकोणबाट प्रभावित रहेको उहाँको आरोप छ।
संविधानले प्रदान गरेका अधिकारबाट प्रदेशहरूलाई वञ्चित गरिएको, साधन–स्रोत तथा अधिकारविहीन बनाइएको र त्यसैको आधारमा प्रदेश संरचनाविरुद्ध दुष्प्रचार भइरहेको उहाँको भनाइ छ।
“प्रदेशलाई कमजोर बनाउने अनि त्यसैलाई आधार बनाएर प्रदेश आवश्यक छैन भन्ने निष्कर्ष निकाल्नु गलत हो,” त्रिपाठीले उल्लेख गर्नुभयो ।
रास्वपाले अघि सारेका विचारप्रति आफूहरू अचम्मित नभएको बताउँदै उहाँले यस्ता विचार बोक्ने राजनीतिक धारसँग आफूहरूले विगतदेखि नै सामना गर्दै आएको टिप्पणी गर्नुभएको छ ।
स्थानीय तहको संरचनाबारे पनि त्रिपाठीले प्रश्न उठाउनु भएको छ ।  स्थानीय तहहरू पर्याप्त क्षमता विकासबिना नै अत्यधिक अधिकार प्राप्त संस्थाका रूपमा रहेको उल्लेख गर्दै नेता त्रिपाठीले बेरुजु बढ्दै गएको, कर्मचारी अभावका कारण सेवा प्रवाह प्रभावकारी हुन नसकेको र शिक्षा तथा स्वास्थ्य क्षेत्रको अवस्था निरन्तर खस्कँदै गएको अवस्थामा स्थानीय तहलाई अझ ठूलो आकार दिने कल्पनाभन्दा आधारभूत सेवा सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस