२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

परासीको झरही र रामखण्डा खोलामा बाढी सम्बन्धि पूर्व जानकारी दिने प्रविधि जडान गरिँदै

२०८० मंसिर २८, बिहिबार प्रकाशित ( महिना अघि) २९७ पाठक संख्या

मोहन पौडेल
परासी, २८ मंसिर । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित झरही र रामखण्डा नदीमा बाढी सम्बन्धि पूर्व जानकारी दिने नयाँ प्रविधि जडान गरिने भएको छ । दुवै खोलामा बाढी पूर्वानुमान प्रणालीमा आधारित पानी नाप्ने प्रविधि जडान गर्नुअघि आजदेखि परीक्षण (ड्रोन सर्भें) शुरु गरिएको छ ।
रामग्राम–२ स्थित झरही नदी किनारमा विहीबार ड्रोन सर्वेक्षणको शुभारम्भ गर्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले झरही र रामखण्डा खोलामा आउन सक्ने बाढीको विषयमा २४ घण्टा अगाडि नै पूर्व सूचना प्राप्त गर्न सकिने गरि नयाँ प्रविधि टेलिमेट्री जडान गर्न लागिएको र त्यसको पूर्वतयारी स्वरुप आजदेखि परीक्षणको काम शुरु भएको जानकारी दिनुभयो । अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र(ईसिमोड)को आर्थिक तथा प्राविधिक सहयोगमा रामग्राम नगरपालिका र स्मार्ट ईन्फ्राटेक सोलुसन्सको सहकार्यमा नयाँ प्रविधि जडान गर्न लागिएको हो ।
झरही र रामखण्डा खोलाको बाढीका कारण विगतमा सदरमुकाम परासीसहित रामग्राम नगरपालिकाका धेरै क्षेत्रमा ठूलो क्षति हुँदै आएको छ । बाढीको सम्भावित जोखिम न्यूनीकरणका लागि बाढी आउँदैछ भन्ने पूर्व सूचना दिने प्रविधि जडानको लागि पहल गरिएको नगर प्रमुख यादवले बताउनुभयो । यो प्रविधिको माध्यमबाट नगरपालिकाको कार्यालयमा जडान हुने बाढी पूर्व चेतावनी प्रणाली(साईरन)ले बाढी आउनुभन्दा २४ घण्टा अघि पूर्व सूचना दिने र त्यसको आधारमा नगरपालिकाले नगरवासीलाई सावधानीका लागि सूचित गर्ने उहाँले जानकारी दिनुभयो ।
हाल परीक्षणको काम शुरु गरिएकोले बाढी पूर्वानुमानमा आधारित प्रविधि जडानका लागि करिब एक वर्ष लाग्ने स्मार्ट ईन्फ्राटेकका निर्देशक अच्युत कृष्ण पाण्डेले जानकारी दिनुभयो । परीक्षण र प्रविधिको विकास गरि जडान गरेपछि मात्र नगरपालिकालाई हस्तान्तरण गरिने उक्त संस्थाले जनाएको छ ।
प्रविधि जडान अघि ड्रोन सर्भे,समुदायको सर्वेक्षण, प्रविधि विकास, सडक, घर भवनको सर्वेक्षण लगायतको प्राविधिक कामहरु हुने संस्थाका निर्देशक पाण्डेले बताउनुभयो । यो प्रविधिले सेटेलाईटबाटै कहाँ कति पानी आउँदैछ भन्ने जानकारी दिनेछ भने त्यसको आधारमा बाढीको पूर्वानुमान चेतावनी सन्देश नगरपालिकामा जडान हुने प्रविधिले जानकारी दिने बताईएको छ । समयमै प्राप्त हुने सूचनाबाट बाढीका कारण हुने जोखिम कम गर्न महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको रामग्राम नगरपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस