२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

प्रधानमन्त्री प्रचण्डद्धारा रामग्राम स्तूपबाट विश्व शान्तिको लागि अपील,रामग्राम विश्वमा स्थापित हुने विश्वास

२०८० मंसिर २६, मंगलबार प्रकाशित ( महिना अघि) २२५ पाठक संख्या

मोहन पौडेल
परासी, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धको सिंगो अस्तिधातु रहेको स्थल रामग्राम स्तूपबाट विश्व शान्तिको लागि अपिल गर्नुभएको छ । सबै एकजुट भएर रामग्राम स्तूपलाई विश्वमा स्थापित गर्न पनि प्रधानमन्त्री दाहालले आह्वान गर्नुभयो ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.७ मा अवस्थित रामग्राम स्तूपमा आयोजित विश्व शान्ति दीप प्रज्वलन तथा रामग्राम स्तूपको बृहत्तर विकासको गुरयोजना घोषणा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले रामग्रामको धार्मिक सांस्कृतिक पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक सामाजिक विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
रामग्राम स्तूपमा आज दिउँसो १२ः१२ बजे विश्व शान्तिका लागि दीपप्रज्वलन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वलाई अझै पनि शान्तिको आवश्यकता रहेको बताउँदै विश्वमा शान्ति स्थापनाका लागि बुद्धका सन्देश अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । यस कार्यक्रमले रामग्रामको प्रचार विश्वभरि बलियो गरि जाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सम्राट अशोकसँग आफ्नो तुलना गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धका शान्ति अभियानलाई विश्वभर फैलाउन समा्रट अशोकले काम गरेजस्तै आफूले पनि अहिले त्यस्तै अभियान चलाएको बताउनुभयो । रामग्राम स्तूप अगाडि उभिएर शान्तिको कामना गर्न पाउनु निकै महत्वपूर्ण र विश्वमा बलियो सन्देश जाने बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले रामग्रामलाई नयाँ ढंगले ब्राण्डिङ गरेर विकास गर्न सरकार लाग्ने बताउनुभयो । रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले रामग्रामको गुरुयोजना अघि बढाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्न माग गर्नुभयो । स्तुप क्षेत्रको क्षेत्रफल एकिन गरि संरक्षण गर्न र आवश्यक जग्गा अधिग्रहणको काम पनि तत्काल अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गर्नुभयो ।
रामग्रामको विकासमा नेपाल सरकारले चासो नदिएको बताउँदै मेयर यादवले संघीय र प्रदेश सरकारको नजर नपरेकै कारण रामग्राम ओझेलमा परेको बताउनुभयो । उहाँले लुम्बिनी आउने पर्यटकलाई रामग्रामसम्म ल्याउने वातवारण बनाउन पनि जोड दिनुभयो ।
कार्यक्रममा पर्यटन राज्यमन्त्री शुशिला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारकल लामा, योगाचार्य आचार्य बालकृष्ण, द प्रोमिस ल्याण्डका अध्यक्ष निकेश अधिकारी, विभिन्न देशका प्रतिनिधि लगायतको पनि सहभागिता थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस