२०८३ आश्विन २६, सोमबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पतालको लापरबाही, खुट्टामा चोट लागेका बिरामीलाई रेबिजको खोप लगाईयो

२०७८ अषाढ ३१, बिहिबार प्रकाशित (५ साल अघि) १७२४ पाठक संख्या

परासी, ३१ असार । नवलपरासी( बर्दघाट सुस्ता पश्चिम ) को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिज विरुद्धको खोप लगाएर पठाएका छन् ।
खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका – ९ कि तीन वर्षीय बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा लगाईने खोप लगाईदिएको बालिकाका आफन्तले बताएका छन् ।
बालिकाका आफन्तले स्वास्थ्यकर्मीले चरम लापरबाही गरि छोरीको स्वास्थ्य माथि खेलवाड गरेको आरोप लगाए ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नाजमा खातुनले रेबिज विरुद्धको खोप लगाईरहेका बेला बालिकाकि आमाले बालिकालाई पनि खोपको लाईनमा लैजाँदा भुलवश रेबिज विरुद्धको खोप लगाईएको अस्पतालले जनाएको छ ।

अस्पतालका निमित्त प्रमुख मेसु डा. मोहम्मद नुरुल होदाले कोठा अभावका कारण प्लाष्टर गर्ने र खोप लगाउने कोठा एउटै रहेकोले खोप लगाउन आह्वान गर्दा प्लाष्टरको लागि लाईनमा बसेका बालिकाका अभिभावकले झुक्किएर खोप लगाउन गएको र स्वास्थ्यकर्मीले पनि उसको पुर्जि नहेरी खोप लगाईदिँदा दुवैपक्षबाट गल्ती हुन पुगेको बताउनुभयो ।
रेबिज विरुद्धको खोप लगाउँदा स्वास्थ्य जोखिममा नहुने भएकोले आत्तिनुपर्ने अवस्था भने नरहेको उहाँले बताउनुभयो ।
खोप लगाउने कर्मचारीलाई तत्काल सचेत गराई अबदेखि यश किसिमका घटना नदोहोर्‍याउने प्रतिवद्धता गराईएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले घटनाबारे सूचना पाए लगत्तै सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीसहित स्थलगत जानकारी लिदै दोषी कर्मचारीलाई तत्काल स्पष्टीकरण सोध्न र चित्त बुझ्दो जवाफ नआए विभागिय कारबाही गर्न अस्पतालका निमित्त प्रमुख होदालाई निर्देशन दिनुभयो ।
´यो गम्भीर लापरबाही हो, रेबिज विरुद्धको खोपको ठाउँमा अन्य खोप परेको भए बालिकाको स्वास्थ्य जोखिममा पर्न सक्थ्यो , यो खोपले स्वास्थ्य जोखिम नहुने देखिए पनि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दोषी कर्मचारीलाई त्यतिकै उन्मुक्ति दिन मिल्दैन`, उहाँले भन्नुभयो ।

  1. यसअघि यस समाचारमा नाजमा खातुन हुनुपर्नेमा भुलवश स्वाथ्यकर्मी नितिशा कोईरालाको नाम लेखिन गएकोमा सच्चाईएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस


↑