२०८३ आश्विन २६, सोमबार
24 खबर अपडेट

म्याद गुज्रेका औषधीको छानविन गरी कारवाही गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग

२०७८ अषाढ ३०, बुधबार प्रकाशित (५ साल अघि) ११६५ पाठक संख्या

परासी, ३० असार – नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) स्थित पृथ्वीचन्द्र अस्पतालमा ठूलो मात्रामा म्याद गुज्रेका औषधी फेला परेको छ । नागरिकले निःशुल्क पाउनुपर्ने औषधी नपाईरहेका बेला अस्पतालमा भने लाखौँ मूल्ुयका औषधी म्याद गुजारेर नष्ट गर्न थालिएको भन्दै सवत्र आलोचना शुरु भएको छ ।
बिरामीले निजी औषधी पसलबाट चर्काे शुल्कमा औषधी किन्न बाध्य हुनुपर्ने तर अस्पतालले औषधी लुकाएर म्याद गुजारेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले छानविन गरी कारवाही गर्न माग गरेको छ । यो अस्पतालको चरम लापरवाही भएकोले तत्काल छानविन गरी आवश्यक कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई लिखित ध्यानाकर्षण गराएको मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले जानकारी दिनुभयो ।
सरकारले निःशुल्क उपलब्ध गराउने भनेर पठाएको लाखौँ मूल्यको औषधी अस्पतालको पूरानो भवनमा लुकाएर राखिएको अवस्थामा भेटिएको उहाँले बताउनुभयो । यस सम्बन्धमा तत्काल छानविन गरी औषधीको म्याद गुज्रिनुको कारण र त्यसमा संलग्न दोषीलाई कारवाही गर्न मञ्चकी जिल्ला सहसंयोजक सम्झना चौधरीले माग गर्नुभयो ।
कोलस्ट्रोल नियन्त्रण गर्ने महङ्गो औषधीको दर्जनौ कार्टुन सहित विभिन्न प्रकारका औषधी फालिएको छ । केन्द्रिय सदस्य ज्ञवालीले आफुले नै यो औषधी बाहिरबाट किनेर खानु परेको तर अस्पतालमा यसरी फालिएको देख्दा दुःख लागेको बताउनुभयो । अस्पतालमा कार्यरत अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीको आफ्नै निजी मेडिकल रहेकोले मिलेमत्तोमा अस्पतालमा आएका औषधीको म्याद गुजारेको सेवाग्राहीको आशङ्का छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले यस विषयमा छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिको नेतृत्वमा छानविन समिति गठन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑